भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षामा हेलचक्र्याइँ गर्ने ९ सुरक्षा अधिकारी कारवाहीमा पर्ने भएका छन् ।
गत वर्ष प्रधानमन्त्री मोदीको पञ्जाब भ्रमणका क्रममा सुरक्षा कमजोरी भएको थियो । पञ्जाब चुनाव प्रचारमा जाँदा किसानको भीडले सडकमा अवरोध गरेको थियो ।
प्रधानमन्त्री मोदीको यात्रा करीब २० मिनेटसम्म रोकिएको थियो । त्यतिबेला पञ्जाबमा भारतीय कांग्रेस नेतृत्वको सरकार थियो ।
घटनामा मुख्यसचिव अनिरुद्र तिवारी, डीजीपी एस चट्टोपाध्याय, एसएसपी हरमनदीप सिंह, डिप्टी आईजी सुरजीतसिंहलाई दोषी देखाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
घटनामाथि छानबिन गर्न सर्वाेच्च अदालतले अवकाशप्राप्त न्यायाधीश ईन्दु मल्होत्राको नेतृत्वमा ५ सदस्यीय टोली गठन गरेको थियो । छानबिन टोलीले प्रतिवेदन बुझाइसकेको छ । रिपोर्टका आधारमा केन्द्रीय गृहसचिव अजय भल्लाले पञ्जाबका मुख्यसचिव विजयकुमार जंजुआलाई दोषीमाथि कारवाही प्रक्रिया अगाडि बढाउन पत्राचार गरेका छन् ।