धनगढी – धनगढी उपमहानगरपालिका–१३ राजपुर बस्ने ओमकार जोशीले फूपाजु नाता पर्ने दुर्गाप्रसाद जोशीले ३६ लाखमा आधा कठ्ठा जग्गा खरिद गरिदिने आश्वासनपछि ८ लाख रुपैयाँ अग्रिम भुक्तानी दिए । आफूसँग भएको चार लाख र पछि फिर्ता गर्नेगरी जोशीसँग लिएको चार लाख समेत गरेर ८ लाख रुपैयाँ जग्गाधनी शान्तिकुमारी गुरुङ(थापा) लाई उनी मार्फत नै रकम तिरेका थिए ।
७ माघ २०७८ मा तमसुक गर्दै जोशीले बाँकी रहेको २८ लाख रुपैयाँ २०७९ बैशाखमा तिरेपछि गुरुङको उनको नाममा जग्गा पास गरिदिने आपसी समझदारी गरेका थिए । तर उक्त जग्गा गुरुङका दुई जना नाबालक छोरा(सुवास र गोविन्द) को समेत नाममा भएका कारण मालपोत कार्यालय धनगढीले अरुको नाममा नामसारी वा बिक्रि वितरण गर्न नसकिने बताएपछि पूर्व योजना सफल हुन सकेन ।
त्यसपछि जोशीले फूपाजु नाता पर्ने दुर्गाप्रसादसँग अग्रिम भुक्तानी(बैना) बाफत गुरुङलाई दिएको चार लाख रुपैयाँ फिर्ता मागे तर उनले आफूसँग पैँसा नभएको भन्दै श्रीमती शारदाकुमारी ओझा जोशीको नाममा रहेको राजपुरकै घरको लालपूर्जा दिदै बैँकमा राखेर ऋण लिन सुझाए । सोही क्रममा जोशीले आफ्नो श्रीमती प्रभु लाइफ इन्स्योरेन्सको एजेन्ट भएकाले ५० लाखको बिमा गर्न दबाब दिए ।
ओमकारले त्यति ठूलो बिमा गर्न नसकिने बताए तर जोशीले मेघा बैँकमा खाता खोलेमा दुई लाख रुपैयाँ बिना धितो बैँकले ऋण दिएर लगानी गरिदिने र बाँकी एक लाख ३३ हजार आफूले हालिदिने भनेपछि उनी बिमा गर्न राजी भए । तर जोशीले उनीबाट हस्ताक्षरसहितको ब्ल्याङ चेक त्यतिबेलै लिएका थिए ।
दुर्गाप्रसादको श्रीमतीको नाममा रहेको घर बैँकमा धितो राखेर ऋण लिनु भनेपनि बैँकले दिएन । त्यसपछि जोशीलाई दिएको चार लाख रुपैयाँ उनी माग्न थाले । २० वर्षको अवधी राखेर गरिएको ५० लाखको बिमाको पहिलो किस्ता वापतको ३ लाख ३३ हजार मध्ये जोशीले तिरिदिएको एक लाख ३३ हजार ओमकारले फिर्ता गरिसकेका छन् ।
तर जग्गा खरिद गर्न पेस्की वापत उनले दिएको चार लाख मध्ये ३ लाखको चेक दिएपनि एक लाख दिन आनाकानी गरिरहेका जोशीले अहिले बिमाको पहिलो किस्ताकै पूरा रकम नपाएको बताउदै दुःख दिन थालेका छन् । बिमा गर्ने बेला दिएको ब्ल्याङ्क चेकलाई बाउन्स गरेर मुद्दा हालिदिने भन्दै धम्की दिएपछि उनी तनावमा छन् ।
‘दुर्गाप्रसाद जोशीले जग्गा खरिद गरिदिन्छु भनेर ८ लाख रुपैयाँ पेस्की(बैना) तिर्न लगाइयो । प्रभु इन्स्योरेन्समा बिमा दुई (५ लाख र ५० लाख) बराबरको दुई वटा बिमा गर्न लगाए,’ ओमकारले भने, ‘बिमाका लागि नगद पैँसा पनि दिएको थिए तर अहिलेसम्म हालेको छैन भनेर पहिलो मागेको ब्ल्याङ चेकलाई बाउन्स गरेर मुद्दा हालिदिन्छु भनेर अहिले तनाव दिन थालेका छन् ।’
ओमकारका भनाइमा उनले जग्गा खरिदका लागि आठ लाख रुपैयाँ पेस्की (बैना) दिइसकेपछि बिमा नगरेमा जग्गा पास नगर्ने चेतावनी दिदै दबाबमा पारेर उधारो बिमा गर्न लगाएका थिए । ‘पैँसा बिमाको तिर्नुपर्ने सबै रकम तिरिसके । उल्टै एक लाख उसबाट लिनुपर्नेछ तर चेक बाउन्सको मुद्दा हाल्छु भनेर टचर दिइरहेको छ,’ जोशीले गुनासो गरे ।
दुर्गाप्रसाद जोशीले श्रीमती एजेन्ट रहेको प्रभु लाइफ इन्स्योरेन्समा उधारो बिमा गर्न लगाएर बाउन्स चेकको मुद्दा लगाइदिन्छु भनेर धम्की दिएको बताउने ओमकार एक्ला होइनन् । उनी जस्तै अरु पनि धेरै जना पीडित छन् । जोशीकै लहलयमा लागेर उधारो बिमा गर्ने लम्कीचुहा नगरपालिका–१० का शिवराज पाध्याय पनि थिए । पाध्यायलाई पनि अहिले चेक बाउन्सको मुद्दा हालिदिने धम्की आइरहेको छ । कतिसम्म भने जोशीको विश्वासमा परेर पाध्याय आफूले मात्र होइन चिनजानका अन्य साथीभाइहरुलाई पनि ५० लाखको उधारो बिमा गराइदिएका थिए ।
आफ्ना व्यापारिक साझेदार डिल्लीराज ओझामार्फत दुर्गाप्रसादलाई चिनेका पाध्यायले आफ्नो र भाइ राजु पाध्यायको समेत ५०÷५० लाखको बिमा गरेका थिए । उनीहरु दुवै जनाको पहिलो किस्ता वापतको रकम दुर्गाप्रसाद आफैले जम्मा गरिदिए भने मेघा बैँक र एनआईसी एसिया बैँकका ६ वटा ब्ल्याङ्क चेक लिएका थिए ।
पाध्याय आफैँले नचाहेर गरेको बिमाको पहिलो किस्ताकै रकम तिर्न नसकेपछि दुर्गाप्रसाद सताउन थालेपछि हैरान भएका छन् । पैँसा नदिएमा चेक बाउन्सको मुद्दा लगाउने भन्न थालेपछि उनी त्रसित छन् ।
‘त्यति बेला भाइ विदेश गइरहेको थियो । व्यापार पनि अलीअली चलिरहेको थियो । पैँसा व्यवस्थापन भइहाल्छ की भनेर उहाँले भनेपछि बिमा गरे, अरुलाई पनि गर्नुस् भनेकै हो,’ पाध्यायले भने, ‘तर भाइको भिसा नै आएन । व्यापार पनि छैन । त्यत्रो पैँसा कसरी तिर्ने सकिदैन् ।’ धनगढीमा किराना पसल राखेर व्यापार गर्दै आएका पाध्याय भाइको र आफ्नो गरेर करीब ७ लाख रुपैयाँ तिर्नुपर्ने भन्दै जोहो गर्न नसकिने र बिमा कम्पनीले निकास दिनुपर्ने बताउँछन् ।
बिमा बाफतको पैँेसा नदिएपनि जोशीलाई ब्ल्याङ्क चेकलाई बाउन्स बनाएर मुद्दा लगाउने डर उनलाई छ । लम्कीचुहा नगरपालिका–६ का तपेन्द्रबहादुर विष्टले पनि जोशी मार्फत नै ५० लाखको बिमा गरेका छन् । उनीबाट समेत जोशीले ब्लाङ्क चेक लिएका छन् । ‘उहाँ(दुर्गाप्रसाद) साथीको भिनाजुको भिनाजु पर्नुहुँदा रहेछ । मलाई बिमा गर्न तीन÷चार पटक प्रस्ताव लिएर आउनुभयो । मैले त्यत्रो रकम तिर्न सकिदैन भनेर फर्काएको थियो,’ विष्टले भने, ‘अहिले म पैँसा तिरिदिन्छु भनेर प्रलोभजन देखाएर जबरजस्ती बिमा गरिदिए । ब्ल्याङ्क चेक लिएर जानुभयो । अहिले चेक बाउन्सको मुद्दा लगाउँछु भनिरहेका छन् ।’
तपेन्द्र विष्ट
जोशी भन्छन्, बिमा गर्न दबाब दिएको छैन
श्रीमती एजेन्ट रहेको प्रभु लाइफ इन्स्योरेन्सको अत्तरिया शाखामा पहिलो किस्ता वापतको रकम आफैले हालेर जोशी, पाध्याय, विष्टहरुको ५० लाखको बिमा गराएको दुर्गाप्रसाद जोशीले स्वीकार गरेका छन् तर कसैलाई दबाब र प्रभावमा पारेको भने नभएको उनको दाबी छ ।
‘बिमा गर्नैपर्छ भनेर मैले कसैलाई दबाब र प्रभावमा पारेको छैन तर श्रीमती एजेन्ट रहेको प्रभु इन्स्योरेन्समा बिमा गरेर सहयोग गरिदिएको हुँ,’ जोशीले भने, ‘मैले पछि फिर्ता पाउनेगरी आफ्नो खल्तीबाट हालेको रकम पाउनुपर्छ । चेक बाउन्सको मुद्दा लगाउछु भनेको कुरामा पनि सत्यता छैन ।’
गत वर्ष प्रभु लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालय स्रोतकाअनुसार धेरै बिमाङ्क संकलन गरेपछि जोशी पत्नी शारदाकुमारी ओझा कम्पनीको स्कीम अन्तरगत भारतको गोवा भ्रमणमा गएकी थिइन् भने अहिले अमेरिका भ्रमणमा जाने गरी छनौट भएकी छन् । तर उनका श्रीमानले भने उनै बिमितहरुलाई चेक बाउन्सको मुद्दा लगाउने चेतावनी दिइरहेका छन् ।
प्रभु इन्स्योरेन्स भन्छ, कम्पनीको लिनुदिनु छैन
प्रभु लाइफ इन्स्योरेन्स अत्तरिया शाखाले भने जोशी पत्नी शारदा अभिकर्ता रहेको कुनै पनि बिमामा कम्पनीले रकम लिन बाँकी नरहेको बताएको छ । यो विवादमा कम्पनीको कुनै भूमिका नरहेको दाबी गर्दै अभिकर्ता र बिमितबीचको विवाद भएको हुनसक्ने इन्स्योरेन्सको दाबी छ ।
‘हामीले सबै कानूनी प्रक्रिया पूरा गरेर बिमा गर्ने गछौँ । उहाँको हकमा तपाईले भने जस्तो अभिकर्तासँग हाम्रो कुनै लेनदेन छैन,’ अत्तरिया शाखाका प्रमुख तारासिंह साउदले भने, ‘बिमितहरुको आर्थिक हैसियत हेरेर नै बिमा गरेका हुन्छौँ । त्यसको सबै कागजपत्र कम्पनीसँग सुरक्षित हुन्छ ।’
तर प्रभु लाइफ इन्स्योरेन्सले दुर्गाप्रसाद जोशी पत्नी शारदा अभिकर्ता रहेको बिमितहरुको हकमा भने आर्थिक हैसियतलाई राम्रोसँग अध्ययन नगरी अभिकर्ताको स्कीम पाउने लालसा पूरा गर्न हचुवाको भरमा बिमा गरेपछि समस्या आएको देखिन्छ । यो कुरा बिमित र अभिकर्ताका श्रीमान दुर्गाप्रसादको भनाइबाट पनि पुष्टि हुन्छ ।
प्रभु लाइफ इन्स्योरेन्स प्रादेशिक कार्यालय धनगढीले भने यो विषयमा आधिकारीक प्रतिक्रिया दिन अस्वीकार गरेको छ ।