काठमाडौँ- उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले स्टार्टअप उद्यम कर्जा कोष कार्यविधि, २०७९ जारी गरेको छ । उक्त कार्यविधि अनुसार कुनै पनि स्टार्टअप व्यवसायीले बिना धितो तीन प्रतिशत ब्याजदरमा २५ लाखसम्मको ऋण प्राप्त गर्न सक्नेछन् ।
कम्पनीले आफ्नै व्यवसाय धितोमा राखेर सो ऋण प्राप्त गर्न सक्नेछन् । कोषको रकम मन्त्रालयले नेपाल राष्ट्र बैंकलाई उपलब्ध गराउनेछ भने राष्ट्र बैंकले तोकेको वाणिज्य बैंकबाट कम्पनीहरूले सो ऋणको रकम पाउन सक्नेछन् ।
बैंकले दुई किस्तामा उक्त रकम उपलब्ध गराउनेछ । कार्यविधिमा उल्लेख भएअनुसार ५० लाखसम्मको चुक्तापुँजी भएको स्टार्टअप व्यवसायले मात्र यो ऋणका लागि आवेदन दिन पाउनेछन् । त्यसैगरी कम्पनीको वार्षिक आम्दानी पनि ५० लाख रुपैयाँसम्मको मात्र हुनुपर्नेछ भने कम्पनीमा १० जनासम्म पूर्णकालीन कर्मचारी हुनुपर्नेछ । कुनै पनि वस्तु वा सेवाको उत्पादन वा वितरण प्रक्रियामा उपभोक्ताले भोग्दै आएका समस्यालाई समाधान गर्न सूचना प्रविधिको प्रयोग भएको हुनुपर्नेछ ।