सुदूरपश्चिममा प्रादेशिक आयुर्वेद चिकित्सालय सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीले प्राकृतिक पद्धतिबाट निःशुल्क उपचार सेवा पाउन थालेका छन् । चिकित्सालयमा ल्याब, ओपिडी, पूर्वकर्म, पञ्चकर्मलगायत सेवा उपलब्ध छन् ।
कैलालीको धनगढी उपमहानगरपालिका– १३ राजपुरमा रहेको सो चिकित्सालय ५० शय्याको छ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले बुधबार चिकित्सालयको उद्घाटन गरे । चिकित्सालयले पाइल्स, फिस्टुला, बाथरोग, पेटसम्बन्धी समस्याको उपचार गरिरहेको वैद्य निरीक्षक सुरेन्द्रबहादुर शाहीले जानकारी दिए । बाथरोग, नसा च्यापिएको, हड्डी खिइएको, पक्षघात र छालासम्बन्धी समस्या भएका बिरामीको पञ्चकर्म–पूर्वकर्म आयुर्वेदिक पद्धतिअनुसार उपचार सेवा दिइरहेको उनले बताए ।
चिकित्सालयका निमित्त निर्देशक डा. सूर्य उपाध्यायले चिकित्सालय सञ्चालनमा आएसँगै यस क्षेत्रका बिरामीले आयुर्वेदिक पद्धतिबाट उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यता हटेको जिकिर गरे । यहाँका नागरिक जीर्ण रोगको उपचारका लागि भारत धाउनुपर्ने बाध्यताको अन्त्य भएको उल्लेख गर्दै उनले सेवा विस्तार गर्दै लगिने बताए । निर्देशक उपाध्यायले चिकित्सालयमा दरबन्दीअनुसार कर्मचारीको अभाव रहेको जानकारी दिए ।
चिकित्सालयमा चिकित्सक चार, वैद्य निरीक्षक एक, वैद्य तीन, स्टाफ नर्स दुई, अनमि दुई, रेडियोग्राफर एक, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट एक–एकजना कार्यरत छन् । ७० जना कर्मचारी दरबन्दी आवश्यक रहेकोमा स्थायी र करारका गरी अहिले ४० कार्यरत रहेका वैद्य निरीक्षक शाहीले बताए । आवश्यक जनशक्ति व्यवस्थापनसँगै एम्बुलेन्स तथा जडीबुटी प्रशोधन केन्द्र स्थापना भए सेवाप्रवाह अझ स्तरीय र प्रभावकारी हुने चिकित्सालयले जनाएको छ ।
सरकारले ०६९ मा धनगढीमा आयुर्वेद चिकित्सालय स्थापना गर्ने निर्णय गरेको थियो । तर, जग्गाको स्वामित्व प्राप्ति र रूख कटान आदेशमा ढिलाइ हुँदा ०७४ बाट पूर्वाधार निर्माणको काम सुरु गरिएको थियो । ३४ करोडको लागतमा गत वर्ष जेठमा भवन निर्माणको काम सकिएपछि केही महिनाअघिबाट प्रारम्भिक सेवा दिन थालिएको थियो । स्थानीय डिलासैनी सामुदायिक वनको दुई बिघा जमिनमा भवनलगायत संरचना निर्माण भएपछि संघले प्रदेशलाई हस्तान्तरण गरेको हो ।
चिकित्सालय भवन उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले जनशक्ति व्यवस्थापन, पूर्वाधार सुधारमार्फत चिकित्सालयको सेवा अझ स्तरीय बनाइने बताए । अहिले आयुर्वेद उपचार पद्धतिको महत्व बढ्दै गएको उनले बताए । ‘आयुर्वेद चिकित्सा विधि रोगमुक्त गर्ने मात्रै नभई मानिसलाई मानसिक, शारीरिक रूपमा स्वस्थ राख्ने उपचार पद्धति हो,’ मुख्यमन्त्री शाहले भने, ‘त्यसकारण परापूर्व कालमा ऋषिमुनिहरूले प्रयोग गरेको योग र आयुर्वेद उपचार पद्धतिको महत्व अहिले थप बढ्दै छ ।’