काठमाडौं — स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार दुई सातायता कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्यकर्मीहरुमा पनि संक्रमण पुष्टि हुन थालेको छ । काठमाडौंका ठूला अस्पतालमा नै स्वास्थ्यकर्मी संक्रमित भएपछि सेवा प्रभावित हुन थालेको छ ।
मीनभवनस्थित सिभिल सर्भिस अस्पतालमा पछिल्लो दुई सातायता २० जनाभन्दा बढी कर्मचारी कोरोना संक्रमित भएका अस्पतालका कार्यकारी निर्देशक डा. विधाननिधि पौडेलले बताए । चिकित्सकसहित विभिन्न विभागका कर्मचारी संक्रमित भएपछि ईसीजी, आईसीयूलगायतका सेवा प्रभावित भएका छन् ।
संक्रमित कर्मचारीलाई पालैपालो होम आइसोलेसनमा राखेर ड्युटी मिलाइएको डा. पौडेलले बताए । अस्पतालको आईसीयूमा भर्ना भएका तीनजना बिरामीमा पनि कोरोना संक्रमण देखिएपछि केही दिनअघि मात्रै वीर अस्पताल रिफर गरिएको उनले जानकारी दिए ।
कोभिड युनिफाइड अस्पतालको रुपमा तोकिएको वीर अस्पतालमा पनि सातजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पनि तीनजना स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य मन्त्रालयको बुधबारसम्मको तथ्यांकमा देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या ३२२ पुगेको छ । संक्रमितको संख्या बढेसँगै अस्पताल भर्ना हुने र आईसीयूमा उपचार गर्नुपर्ने बिरामी पनि बढेका छन् । मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै १७ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने चारजना आईसीयूमा र एकजनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।