काठमाडौँ – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले रास्वपाका सभापति रवि लामिछाने विदेशीबाट सञ्चालित मान्छे भएको बताएका छन् । उनले चितवनमा त्यस्ता मान्छेलाई भगवान् मान्नु दुर्भाग्य भएको टिप्पणीसमेत गरे ।
शनिबार काठमाडौँमा जनमोर्चाद्वारा आयोजित ‘नेपालमा अमेरिकी साम्राज्यवादको हस्तक्षेप र राष्ट्रियता रक्षाको प्रश्न’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले नेपालमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिका ‘सेटिङ’बाट चलिरहेको आरोप लगाए ।
अहिले मुलुकको राष्ट्रियतामाथि नै विषम परिस्थिति आउँदा राष्ट्रिय जनमोर्चा मात्र लडिरहेको उनको भनाइ छ ।
लोकतन्त्र, गणतन्त्र ल्याउनेहरूले नै मौका पाएपछि सत्ताको दुरुपयोग गरेको उनले बताए । सङ्घीयताको विरोध गरेकै कारण जनमोर्चालाई आँखाको कसिङ्गर बनाइएको उनको भनाइ छ ।
पुराना दलका नेताहरूले राष्ट्रियतामाथि नै सौदाबाजी गरेका कारण जनता विकल्प खोज्न बाध्य भएको उनको जिकिर छ ।