२०२० साल साउन १५ मा डडेल्धुराको भागेश्वर गाउँपालिकामा जन्मिएका साउद सानै उमेरमा राजनीतिमा होमिए । डडेल्धुरामा जन्मिए पनि उनको राजनीतिक यात्रा नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी संघ (नेविसंघ) मार्फत कञ्चनपुरबाट सुरु भयो ।
साउद २०३६ मा कञ्चनपुरको महेन्द्रनगर माध्यमिक विद्यालयको नेपाल विद्यार्थी संघको इकाइ सचिव भए । विद्यार्थी संगठनहरूमाथि प्रतिबन्ध हटेपछि २०३६ मै सिद्धनाथ विज्ञान क्याम्पसको स्ववियु सचिवमा चुनिए । २०४१ सालमा नेपाल विद्यार्थी संघको केन्द्रीय सदस्य बनेका उनी २०४८ मा केन्द्रीय सभापति बन्न सफल भए । २६ वर्षको उमेरमा नेविसंघको निर्वाचित सभापति बने । ०५९ मा वर्तमान सभापति शेरबहादुर देउवाको नेतृत्वमा कांग्रेस विभाजित भएर बनेको कांग्रेस (प्रजातान्त्रिक) मा उनी केन्द्रीय सदस्य भए । कांग्रेस प्रजातान्त्रिकको ११ औँ महाधिवेशनमा पनि केन्द्रीय सदस्य बनेका साउद ०६४ मा कांग्रेस र कांग्रेस प्रजातान्त्रिकबीच एकता हुँदा पनि केन्द्रीय सदस्यकै रूपमा रहे ।
एकीकरणपछिको १२ औँ र १३ औँ महाधिवेशनमा पनि उनी केन्द्रीय सदस्य निर्वाचित भए । १४ औं महाधिवेशमा उपसभापतिका प्रबल दाबेदार मानिएका साउदलाई दोस्रो पटक देउवालाई सभापति बनाउने योजना सफल पार्न उपसभापतिमा उम्मेदवारी दिने आफ्नो योजनाबाट ‘ब्याक’ हुनु परेको थियो ।
शेखर कोइराला खेमाले उपसभापतिको उम्मेदवार बन्न गरेको प्रस्ताव अस्वीकार गरेर उनी केन्द्रीय सदस्यमात्र लडे । ३५ जना खुला केन्द्रीय सदस्यमा उनी दोस्रो सर्वाधिक मत ल्याउन सफल भए । अहिले उनी कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति सदस्यसमेत छन् ।
संसदीय राजनीतिमा पनि खारिएका नेता हुन् साउद । २०५१ सालको मध्यावधि निर्वाचनमा चुनावी प्रतिस्पर्धा गरेका उनी ०५६ सालको आम निर्वाचनमा कञ्चनपुर– १ बाट निर्वाचित भए । ०५७ मा शिक्षा राज्यमन्त्री पनि बने । ०६४ मा भएको पहिलो संविधानसभा निर्वाचन परिणाम साउदको पक्षमा रहेन । ०७० को चुनावमा कञ्चनपुर–२ बाट सांसद भएका साउद सुशील कोइराला नेतृत्वको सरकारमा सिँचाइ मन्त्री बने । ०७४ को आम निर्वाचनमा भने उनी वाम गठबन्धनसँग पराजित भए ।
उनी गत आम चुनावमा कञ्चनपुर–२ बाट निर्वाचित भए । सभापति देउवाले महत्त्वपूर्ण मानिने परराष्ट्र मन्त्रालयको जिम्मेवारी दिएर साउदलाई प्रचण्ड नेतृत्वको सरकारमा पठाएका छन् ।