काठमाडौं – नेकपा एमालेका केन्द्रीय सदस्य समेत रहेका व्यवसायी दुर्गा प्रसाईंले आगामी प्रतिनिधि सभा निर्वाचनमा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले एउटै मात्र सीट जिते आफू सम्पूर्ण सम्पत्ति दान गरेर वृन्दावन जाने सार्वजनिक घोषणा गरेका छन् ।
बुधवार भक्तपुरको सूर्यविनायकमा आफ्नै लगानीमा खुलेको तरकारी बजार उद्घाटनका क्रममा प्रसाईंले आगामी चुनावमा ती दुई कम्युनिस्ट पार्टीले एक सीट जिते आफ्नो सबै सम्पत्ति दान गरेर वृन्दावन जाने बताएका हुन् ।
‘चुनौती दिएर भन्छु, माओवादी र एसले कुनै निर्वाचन क्षेत्रबाट एक सीट जितेमा उनीहरूले इच्छाएको व्यक्तिको नाममा सम्पत्ति दिएर वृन्दावन जानेछु,’ प्रसाईंले भने ।
उद्घाटन कार्यक्रममा सुरु मन्तव्यबाट नै अन्य पार्टीलाई गाली गर्दै प्रसाईँले मन्तव्यको अन्त्यतिर एस पार्टीको नाम तोकेर गठबन्धन बाहेक चुनावमा एक सिट मात्र ल्याए आफ्नो सबै सम्पत्ति परित्याग गएर भारतको वृन्दावन गएर बस्ने बताएका हुन्।
उनले आफ्नो यही भनाइलाई प्रमाण मानेर दावी लिए पुग्ने समेत बताए। प्रसाईँले सूर्यबिनायकमा ४४ सय मानिसलाई रोजगारी हुने गरी थोक तरकारी बजार सञ्चालनमा ल्याएको दावी गरेका छन्।