काठमाडौँ – अर्थमन्त्री डा. प्रकाशशरण महतले श्रोत सुनिश्चित नभएका आयोजनामा बजेट नराख्न प्रस्ताव गरेका छन् । शुक्रबार बसेको अन्तर सरकारी वित्त परिषद्को बैठकमा उनले यस्तो प्रस्ताव राखेका हुन् ।
बजेट छर्ने पुरानो शैलीबाट अब अर्थतन्त्र चल्न नहुने भन्दै अब प्राथमिकता प्राप्त आयोजनामा स्रोत सुनिश्चितता गरेर मात्र अगाडि बढ्ने सरकारको योजना रहेको बताएका हुन् ।
स्रोतको पहिचान नभएका आयोजनाबाट जनता झुक्याउने काम मात्र हुने डा. महतको भनाई छ । बैठकमा अर्थमन्त्री डा. महतले तिनै तहका सरकारको महत्त्वपूर्ण जिम्मेवारी रहेको भन्दै यो जिम्मेवारी प्रभावकारी ढङ्गले पुरा गर्नुपर्ने अहिलेको चुनौती भएको बताए ।
प्रदेश सरकार एउटा कार्यकाल पुरा गरेर दोस्रो कार्यकालमा प्रवेश गरेको सन्दर्भ निकाल्दै उनले स्थानीय तह धेरैपछि अस्तित्वमा आएको बताए । यी अनुभवबाट सिक्दै, यसको दक्षता र प्रभावकारिता बढाउन जरुरी रहेको भन्दै उनले अन्तर सरकारी वित्त परिषद्मा स्थानीय, प्रदेश र विज्ञहरूले उठाएका सवाललाई केन्द्र सरकारले गम्भीरताका साथ लिने र समाधानको उपाय खोज्ने बताए ।