काठमाडौँ – परराष्ट्रमन्त्री एनपी साउदले किमाथांका सुचारु गर्ने विषयलाई उच्च प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेका छन् ।
आइतबार मन्त्रालयमा सङ्खुवासभा जिल्लाका प्रतिनिधि र कोशी प्रदेशका सांसदहरुले संयुक्त रूपमा किमाथांका नाका खोल्न चीन सरकारसँग पहल गरिदिन बुझाएको ध्यानाकर्षण पत्र बुझाएका थिए ।
सो पत्र ग्रहण गर्दै मन्त्री साउदले किमथांका नाका सञ्चालन गर्नेकुरा आफ्नो पहिलो प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता जनाएका हुन् ।
उनले किमाथांका नाका ऐतिहासिक नाका भएको र पूर्वको व्यापार व्यवसायलाई प्रत्यक्ष फाइदा पुग्ने नाका भएकाले नाका खोल्नेकुरा पहिलो प्राथमिकतामा राख्ने बताए । उनले नेपाल र चीनबीचको सम्बन्धलाई बढाउन र व्यापार व्यवसाय पनि बिस्तार गर्नका लागि किमथांका नाका सहज र छोटो दुरीको माध्यम बन्ने बताए । उनले चीन सरकारसँग नाका खोल्नका लागि आवश्यक पहल गर्ने बताए ।
जिल्लाका प्रतिनिधिहरूले नेपालका लागि व्यावसायिक हिसाबमा चीनसँगको नाकाहरू महत्त्वपूर्ण भएकाले सबै नाकाहरू खुलाउन समेत पहल गर्न आग्रह गरेका छन् ।