धनगढी – न्याय, समानता सम्मानका लागि धनगढीमा दलित महिलाहरूको दुई दिने सम्मेलन ५ बुँदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ। शनिवार र आइतवार सम्मेलनपछि आयोजित प्रत्रकार सम्मेलनमा दलित महिला संघका कैलाली अध्यक्ष अम्बिका ताम्राकारले घोषणा पत्र वाचन गरेका थिए।
पत्रकार सम्मेलनमा दलित महिला संघमा संस्थापक अध्यक्ष दुर्गा सोव, महासिचव रेणु सिजापती, कला स्वर्णकार, कैलाली अध्यक्ष सविना घिमिरे र सम्मेलनमा सहभागी सुदूरपश्चिमका विभिन्न स्थानीय तहका दलित महिला जनप्रतिनिधिकहरुको उपस्थिति थियो।
सम्मेलनले समाजमा रहेको जातीय, लैङ्गिक, धार्मीक र राजनैतिक विभेद र छुवाछुत विरुद्ध शूंन्य सहनशिलताको नीतिलाई कार्यान्पयन गर्न, न्याय, सम्मान र समतामूलक समाज स्थापनाका लागि निरन्तर काम गर्ने घोषणा गरिएको छ। यस्तै, विद्यमान ऐन कानून कार्यान्वयन गर्न सहयोग गर्ने, तीनै तहका सरकार समक्ष दलित, दलित महिला र महिलाका सवालहरू उठान गर्ने र अधिकार प्राप्तिका लागि संगठित हुने पाँच बुँदे घोषणामा उल्लेख गरिएको छ।
सम्मेलनबाट १७ वटा माग गरिएको छ। सबै क्षेत्रमा दलित र दलित महिलाको जनसंख्याको आधारमा प्रतिनिधित्व हुनुपर्ने माग गरिएको छ। प्रदेश सरकारले पारित गरेको दलित सशक्तिकरण ऐन लागू हुनपर्ने, दलित समुदायका लागि १८ प्रतिशत बजेट विनियोजन गर्न, अन्तरजातीय विवह गरेका दलित र दलित महिलाहरूलाई सुरक्षा, रोजगारी, जीविकोपार्जनसहित समाजमा स्थापित र सम्मानित हुने अवस्था निर्माण गरिनुपर्ने माग गरिएको छ।
सम्मेलनबाट भूमिहीन, सुकुम्वासी, अव्यवस्थित र संकटग्रस्त स्थानमा बसेका दलित समुदायका लागि सुरक्षित आवासको व्यवस्था हुनुपर्ने, दलित समुदायले सञ्चालन गर्दै आएका परम्परागत पेशाको आधुनिकीकरण र व्यवसायिकीकरणका लागि वजेटसहितको कार्यक्रम ल्याउनुपर्ने र प्रत्येक पालिकाबाट कम्तिमा एक जना विपन्न दलित महिलालाई नर्सिङ लगायत प्राविधिक विषय अध्ययनका लागि आवासीय खर्चसहित पूर्ण छात्रवृत्तिको व्यवस्था हुनुपर्ने जस्ता माग गरिएको छ।