कञ्चनपुर – नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) ले “दिगो उपभोग तथा उत्पादनका अभ्यास” विषयक अन्तर्क्रिया कार्यक्रमको आयोजना गरको छ। डीसीए नेपालसँगको साझेदारीमा एनएनएसडब्ल्यूए-द्वारा सञ्चालित सुदृढ परियोजनाले बिहिबार होटल सिद्धार्थमा बहुपक्षीय सरोकारवालाहरूसँग “दिगो खाद्य उपभोग तथा उत्पादन” का समस्या र प्रकृतिमा आधारित समाधानका अभ्यासका विषयमा अन्तर्क्रिया कार्यक्रम गरेको हो।
कार्यक्रमको उद्देश्य बारे प्रकाश पार्दै एनएनएसडब्ल्यूए-का कार्यकारी निर्देशक अशोक बिक्रम जैरूले खाद्यान्न, वातावरण र यातायातलगायत हरेक क्षेत्रको उत्पादन र उपभोगमा दिगोपना हुनुपर्छ भन्ने मान्यताका साथ विभिन्न क्षेत्रका सरोकारवालाहरूसँग अन्तर्क्रिया कार्यक्रमको गरिएको बताए। उनले भने, “डीसीए नेपाल र एनएनएसडब्ल्यूए-ले भीमदत्त नगरपालिकामा दिगो उपभोग तथा उत्पादनका अभ्यासको अवस्थाबारे अध्ययन गरेको छ, र यस अध्ययनबाट पत्ता लागेका कुराहरूलाई विभिन्न पक्षहरूसँग छलफल गर्नुपर्ने भएकाले कार्यक्रमको आयोजना गरिरएको हो।” हामिले गरेका क्रियाकलापहरू हामिलाई राम्रो लागेपनि ती क्रियाकपालहरूले खाद्यान्न, वातावरण र यातायातको अवस्थामा के परिवर्तन ल्याएको छ? र त्यसलाई कसरी दिगो बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिन जरूरी रहेको उनले बताए। उनले दिगो उपभोग तथा उत्पादनका चुनौती र समाधानका उपायबारे अध्ययन तथा लेखाजोखा कुनै एक पक्षले गरेर नपुग्ने भएकाले बहुपक्षीय सरोकारवालाहरूसँग छलफलको अवधारणाको सुरूवात गरिएको पनि जानकारी गराए।
डीसीए नेपालकी कार्यक्रम प्रमुख सम्झना बिस्टले नेपाल तथा नेपाल जस्ता विकासोन्मुख देशहरूमा गास, बास र कपासको समस्या भएको अवस्थामा वातावरण जोगाउनु निकै चुनौती रहेको र नजोगाए पनि झन ठुलो समस्या आउने बताइन्। उनले विकाससँगै वातावरणलाई कसरी संरक्षण गर्ने भन्ने कुरामा ध्यान दिनुपर्ने बताइन्। उनले भनिन्, “डीसीए नेपालले भीमदत्त नगरपालिकाका वडा नम्बर ४ र १० का २७१ घरधुरीमा खाद्य उपभोग, यातायातका साधनहरूको उपभोग र वातावरण अर्थात् खुला क्षेत्र (पार्क) उपभोगको अवस्था कस्तो रहेको छ, भन्ने विषयमा एउटा अध्ययन गरेको छ। त्यो अध्ययनबाट दिगो उपभोग र उत्पादन शैलीमा परिवर्तन भएको पाइएको छ।” उनले हरेक क्षेत्रमा दिगो उपभोग तथा उत्पादन ल्याउन सबै पक्ष, सरकारी निकाय तथा निजी क्षेत्रलाई पनि सँगसँगै लगेर जानुपर्ने बताइन्।
भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटीले चुरे संरक्षण गर्न जरूरी रहेको बताए। उनले भने, “भीमदत्त नगरपालिकाले गौमाताको व्यवस्थापनका लागि गोबर ग्यास उत्पादन गर्ने सम्झौता गरेको छ। त्यसबाट उत्पादित गोबर ग्यासलाई सहुलियत दरमा स्थानीयहरूलाई वितरण गर्ने तयारी गरेको छ।” उनले दिगो उपभोग तथा उत्पादनका चुनौती र समाधानका उपायबारे अध्ययन तथा लेखाजोखा गर्न बहुपक्षीय सरोकारवालाहरूसँग छलफलको अवधारणाको सुरूवात गरेकोमा एनएनएसडब्ल्यूए र डीसीए नेपाललाई धन्यवाद दिए।
भीमदत्त नगरपालिकाकी पूर्व नगर उप-प्रमुख शुसिला सिँह चन्दले उपभोग तथा उत्पादनमा दिगोपना ल्याउन चुलोचौको अर्थात् घरधुरीबाट सुरूवात गर्नुपर्ने बताइन्। उनले भनिन्, “दाउरामा ताउलीमा भात पकाएर खानेभन्दा ग्यासमा कुकरमा सिटी लगाएर खानेलाई हाम्रो समाजले मान्यता दिइरहेको छ। हामीले राम्रो कामलाई समर्थन गरिरहेकाछौँ की नराम्रो कामलाई त्यो बुझ्न जरूरी छ।” उनले भारतीय बजारबाट विशादीयुक्त खाद्य वस्तुहरू आयात भएरहेको र बजारमा पनि बिक्रि वितरण हुने वस्तुहरूको नियमित अनुगमन हुनुपर्ने बताउँदै संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्रको पनि अहम भूमिका रहने बताइन्।
कार्यक्रममा सहभागीहरूले जलवायु परिवर्तनले कृषि उत्पादकत्वमा कमि आएको, बजारमा विशादीयुक्त तरकारी तथा खाद्य वस्तुहरू बिक्री वितरणमा आउने गरेको र विकास निर्माणका कार्य गर्दा वातावरण विनास हुने गरेको बताए। उनिहरूले उपभोग तथा उत्पादनमा दिगोपना ल्याउन अर्गानिक उत्पादनलाई बढावा दिनुपर्ने, बजारमा बेचिने खाद्य वस्तुको नियमित अनुगमन हुनुपर्ने साथै विकास निर्माणका कार्यबाट हुने विनासलाई परिपूर्ती हुने क्रियाकलाप गर्नुपर्नेमा जोड दिएका छन्।
डीसीए नेपालकी कार्यक्रम प्रमुख सम्झना बिस्टले सहजीकरण गरेको कार्यक्रममा भीमदत्त नगरपालिकाका नगर प्रमुख पदम बोगटी प्रमुख अतिथिका रूपमा उपस्थित रहेका थिए। अतिथिका रूपमा नगर उप-प्रमुख निलम लेखक र विशिष्ट अतिथिका रूपमा पूर्व नगर उप-प्रमुख शुसिला सिँह चन्द उपस्थित रहेकी थिइन्। कार्यक्रममा विभिन्न क्षेत्रमा काम गर्ने ३५ जनाले सहभागिता जनाएका थिए।