काठमाडौँ: दूरपश्चिमसहित पाँच प्रदेशका ३४ जिल्लामा पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना सुरु गरिएको छ । सुदूरपश्चिमका ५, बाग्मतीका ३, कोशीका ७, गण्डकीका १० र कर्णालीका ९ ओटा गरी ३४ जिल्लालाई कार्यक्रममा समेटिएको छ ।
३४ जिल्लाका सय पालिकाका नागरिकको कृषिमा आधारित आम्दानी वृद्धि गर्न १० हजार धुरीको सहभागितामा एक हजार हेक्टरमा तरकारी तथा अन्य रैथाने बाली खेती र ३० हजार घरधुरीको सहभागितामा १० हजार हेक्टरमा बगैँचा स्थापना गर्ने लक्ष्य राखिएको छ । यो आयोजना मध्यपहाडी लोकमार्ग आसपासका क्षेत्रलाई लक्षित गरी सुरु गरिएको बताइएको छ ।
पहाडी क्षेत्र काष्ठफल तथा फलफूल विकास आयोजना केन्द्रीय आयोजना व्यवस्थापन इकाइले सन् २०२९ सम्म आयोजना सञ्चालन हुने र १२ अर्ब ५५ करोड रुपैयाँ खर्च हुने जनाएको छ । इकाइका आयोजना निर्देशक राजेन्द्र कोइरालाले आयोजनाअन्तर्गत कागजी बदाम, स्याउ, एभोकाडो, कागती, सुन्तला, जुनार, किवी, मेकाडेमिया, पिकानट र ओखरको बगैँचा स्थापना गरिने बताए ।
एसियाली विकास बैङ्कको सहुलियतपूर्ण ऋण तथा अनुदान, विश्व कृषि तथा खाद्य सुरक्षा कार्यक्रमको अनुदान तथा प्राविधिक सहयोग र नेपाल सरकारको संयुक्त लगानीमा आयोजना सञ्चालन हुन लागेको हो ।