डडेल्धुरा: डडेल्धुरा अस्पताल विकास समितिको अध्यक्षमा दोस्रोपटक नियुक्त भएका करुणाकर ओझाले आज पदभार ग्रहण गरेका छन्। उनलाई अस्पतालका कर्मचारीले स्वागत गरेका थिए। ३ गतेको मन्त्रीस्तरीय निर्णयबाट नियुक्त भएका अध्यक्ष ओझासहित सदस्यहरु देवकी भट्ट र जनकबहादुर मल्लले पनि आजै पदभार ग्रहण गरेका छन्।
उक्त पदभार ग्रहण कार्यक्रममा बोल्दै ओझाले पहिलेजस्तो नम्र भएर अब काम नगर्ने बताएका छन्। अस्पतालका कर्मचारीबाट हुने गरेका गल्तीलाई व्यवहारिक भएर नहेर्ने उनले बताए।
‘यसपटक अवसरसँगै विभिन्न चुनौती समेत आएको छ। पहिलो कार्यकालबाट थुप्रै अनुभव बटुलिसकेको छु’ उनले भने, ‘अस्पतालबाट प्रवाह हुने सेवाका लागि कर्मचारीबाट सहयोगको अपेक्षा गरेको छु। बाहिर म एकदमै नम्र भएको कुरा चलिरहन्छ। तर अब म कुनै पनि कमजोरीमा सम्झौता गर्नेवाला छैन। अब कडा नभइ नहुने भयो।’
नवनियुक्त अध्यक्ष ओझाले सबै कर्मचारीलाई बफादार भएर काम गर्न निर्देशन समेत दिएका छन्। उनले अस्पतालको प्रशासनिक अवस्थाको सुधारलाई पहिलो प्राथमिकतामा राख्ने प्रतिबद्धता गरे। अस्पतालको सरसफाईमा विशेष ध्यान दिन निर्देशन दिँदै उनले कर्मचारीले आचरण र व्यवहार सुधार गर्नुपर्ने बताएका छन्।
यस्तै उनले सबै विभागबाट दिइने सेवालाई थप गुणस्तरीय बनाउन प्रयास गर्ने र चर्को रुपमा रहेका सेवा शुल्कमा परिमार्जन गरेर अगाडि बढ्ने बताए। अध्यक्ष ओझाले डडेल्धुरा अस्पतालको फार्मेसीबाटै सबै किसिमका औषधी उपलब्ध गराउने वातावरण मिलाउने समेत बाचा गरे। ‘बाहिर औषधी ल्याउन पठाउने चिकित्सकविरुद्ध प्रमाण भेटिएमा त्यस्ता बद्मास कर्मचारीलाई कारबाही गर्नेछौं’ उनले भने।
साथै अध्यक्ष ओझाले ५ सय शैय्याको विशेष अस्पताल बनाउने प्रक्रियालाई अगाडि बढाउन पठाइएको ओएनएम पास गर्न अर्थ मन्त्रालयमा अनुरोध गर्ने बताएका छन्। अस्पतालमा हालसम्म पनि उपक्षेत्रीयको दरबन्दी रहेकाले त्यसको परिपूर्ति गर्न स्वास्थ्यमन्त्रीलाई अनुरोध गरेको जानकारी उनले दिए। यस्तै उनले अस्पतालमा थन्किएका उपकरण प्रयोगमा ल्याउने, अमरगढी बहुप्राविधिक शिक्षालयको कार्यलाई अगाडि बढाउने र मेडिकल कलेज बन्ने प्रक्रियामा सक्दो जोड दिने बताएका छन्।
अध्यक्ष ओझाले आफ्नो कार्यकालमा अस्पतालमा ढाई करोडको पीसीआर मेसिन जडान भएको उल्लेख गरे। साथै सिटी स्क्यान जस्ता अत्याधुनिक मेसिन जडान गरेर सेवा प्रवाह गरिरहेको समेत उनले बताए।
गत वैशाख १७ गते प्रधानमन्त्री एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री स्तरको निर्णयबाट लक्ष्मण सिंहलाई डडेल्धुरा अस्पतालको अध्यक्षमा मनोनीत गरेको भन्दै मन्त्रालयबाट पत्र आएको थियो।
उक्त पत्रअनुसार सिंहलाई वैशाख २३ गतेबाट लागू हुनेगरी अध्यक्षमा मनोनीत गरिएको थियो। उनीसँगै तेज साउदलाई अस्पताल विकास समितिको सदस्यमा मनोनीत गरिएको थियो।
उक्त पत्र अस्पताल पुगेपछि सिँहले जेठ ३ गते पदभार ग्रहण गरेका थिए। तर, सोही दिन स्वास्थ्य मन्त्रालयबाट उनको पद बदर गरिएको भन्दै अर्को पत्र अस्पताल पुगेको छ। उनको ठाउँमा अस्पतालका निवर्तमान अध्यक्ष करुणाकर ओझालाई नियुक्त गरिएको थियो।