कञ्चनपुरः कञ्चनपुरको पुनर्वास नगरपालिकामा कुष्ठरोग रोकथाम कार्यक्रम सुरू गरिएको छ । पुर्नवास नगरपालिकाको आयोजना, एनएलआर नेपाल र नेपाल राष्ट्रिय समाज कल्याण संघ (एनएनएसडब्ल्यूए) को प्राविधिक सहयोगमा कुष्ठरोग रोकथाम कार्यक्रम सुरू गरिएको हो ।
कार्यक्रमअन्तर्गत मुल बिरामीको गोपनियता कायम राखेर, बिरामीको परिवार, छिमेकी र समूदायका सम्पर्क व्यक्तिहरूलाई एक खुराक रिफाम्पिसिन (औषधी) खुवाउने गरिएको छ । एक खुराक रिफाम्पिसिनले कुष्ठरोगको किटाणु (माइक्रोबेक्टेरियम लेप्रे)लाई निष्कृय पार्दछ र रोग लाग्नबाट बचाउँदछ ।
नगरपालिकाका नगरप्रमुख तोय प्रसाद शर्माले कुनै पनि रोग निवारण गर्नु पालिकाको प्रमुख दायित्व भएको बताए । कुष्ठरोग रोकथाम कार्यक्रम पालिकाका ११ वटै वडामा सञ्चालन गरिने उनले बताए ।
स्वास्थ्य कार्यालय कञ्चनपुरका क्षय तथा कुष्ठरोग अधिकृत उद्धव सिँह ठगुन्नाले पुनर्वासमा कुष्ठरोगको संक्रमण दर उच्च रहेको बताए । उनले यस कार्यक्रमले धेरैभन्दा धेरै व्यक्तिहरूलाई समेट्ने भएकाले यसले कुष्ठरोग निवारणमा महत्त्वपूर्ण भुमिका खेल्ने बताए ।
एनएनएसडब्ल्यूएका कार्यकारी निर्देशक अशोक विक्रम जैरूले एनएलआर नेपाल र एनएनएसडब्ल्यूए–ले विगत १० वर्षदेखि कुष्ठरोग प्रभावित क्षेत्रहरूमा काम गर्दै आएको बताए ।