रुपन्देही: कपिलवस्तुमा एक युवाले आफ्नि प्रेमिका र उनका काकाको हत्या गरेका छन् । प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेपछि ती युवाले प्रेमिका र उनका काकाको हत्या गरेका हुन् ।
कपिलवस्तुको बाणगंगा नगरपालिका-६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका-२ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।
बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा र अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी प्रवक्ता डीएसपी मीनबहादुर घलेले जानकारी दिएका छन् ।
प्रहरी प्रवक्ता घलेका अनुसार मोहन र अन्जलीबीच प्रेम सम्बन्ध थियो । मोहनले अन्जलीलाई विवाहको प्रस्ताव राख्दा उनले अस्वीकार गरेपछि मोहन आफ्नो घरबाट मटेरिया पुगेर बदला लिएको प्रारम्भिक अवस्थामा भेटिएको घलेले बताए ।
प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।