काठमाडौं: ३४ वर्षीया महिलालाई यौन शोषण गर्दै घरजग्गा हडपेको आरोपमा मिटरब्याजी ललितपुर ठेचोका सुर्जमान मालीलाई प्रहरीले पक्राउ गरेको छ।
पाँच लाख रुपैयाँ ऋणको साँवा र ब्याज एकमुष्ट तिर्न नसक्दा उनले ती महिलालाई यौन शोषणसँगै घरजग्गा समेत कब्जा गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ। पीडित महिलाले २०७५ सालमा श्रीमान् बिरामी हुँदा उपचारका लागि सुर्जमानबाट ऋण लिएकी थिइन्।
सुर्जमानले पाँच लाख रुपैयाँ ऋणको मासिक ब्याजमात्रै ५० हजार रुपैयाँ तिर्नुपर्ने भनेपछि पीडित महिलाले पाँच लाख रुपैयाँको मासिक ५० हजार रुपैयाँका दरले दुई पटक ब्याज तिरेकी थिइन्।
ऋणको साँवा घटाउने उद्देश्यले उनले स्वावलम्बन लघुवित्तबाट ऋण लिएर दुई लाख रुपैयाँ सुर्जमानलाई दिएकी थिइन्। तर सुर्जमानले भने साँवाको सट्टा ब्याजमात्रै कटाएर ऋण र ब्याज एकमुष्ट तिर्न ताकेता गरिरहन्थे। पैसा तिर्न नसकिरहेको बेलामा ऋणब्याज मिनाहा गरिदिने भन्दै सुर्जमान र उनका साथीहरुले पीडित महिलालाई बलात्कार गरेको प्रहरीको अनुसन्धानमा खुलेको छ।
प्रहरीका अनुसार महिलाले माइतीबाट पाएको घरजग्गा नै सुर्जमानले हडपेका थिए। पीडित महिलाले आफूमाथि भएको ज्यादतीबारे हिजो दिउँसो गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर सुनाएपछि प्रहरीले सुर्जमानलाई पक्राउ गरेको हो।