बैतडी: बैतडीको पाटन नगरपालिका–८ खोड्पेमा बेवारिसे अवस्थाको सुन फेला परेको छ ।
काठमाडौंबाट दार्चुलाका लागि आइरहेको सुपप्र ०२००१ ख १३०१ नम्बरको बसबाट छाडिएको केहि सामग्रीमा सुन आइतबार बिहान फेला परेको हो ।
खोड्पे प्रहरी चौकीको इन्ट्री पोष्टमा बसका स्टाफहरुले सामान छाडेको र उक्त सामानमा सुन फेला परेको प्रहरीले जनाएको छ । पाटन–८ का एक स्थानीयका आफन्तले काठमाडौंबाट औषधी पठाएको बुझिएको छ ।
त्यो औषधी भनिएको बस्तु मध्येको एक प्याकेट खोलेर हेर्दा सुन भेटिएपछि इन्ट्री पोष्टमै राखेका थिए । प्रहरीलाई शंका लागेपछि बरामद गरेर सुरक्षितत राखेको छ ।
सुन बरामदपछि इलाका प्रहरी कार्यालय पाटनमा लगिएको छ ।८३ ग्राम ५२० मिलिग्राम (करिब ७ तोला अढाइ आना) परिमाणको सुन भेटिएको र बिल समेत नरहेको पाइएपछि बरामद गर्दै सुरक्षित राखिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरिक्षक कमल प्रशाद चौधरीले जानकारी दिए । बिना बिलको सुन भेटिएकाले शंका लागेपछि बरामद गर्दै सुरक्षित राखिएको उनले बताए ।
यद्यपि दार्चुलाबाट एक व्यापारीले सुन आफ्नो रहेको र त्यसको बिल समेत रहेको बताएका छन्।