धनगढी: दार्चुलाको एक पालिकामा भ्रष्टाचार मुद्दामा डामिएर निलम्बित रहेका कर्मचारीलाई नै हाकिम बनाएर पठाइएको कुरा खुलेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भ्रष्टाचार मुद्दा लागेर बर्षदिनदेखि निलम्बनमा रहेका उपसचिवलाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएर स्थानीय तहमा खटाएको हो।
मन्त्रालयले उपसचिव पदमबहादुर बुढालाई शैल्यशिखर नगरपालिकाको हाकिमको जिम्मेवारी दिएर खटाएको छ।
उनलाई कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयका तत्कालीन शाखा अधिकृतका रुपमा कार्यरत रहँदा भ्रष्टाचार मुद्दा लागेको थियो। गत वर्ष भदौं २६ मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ करोड बढी बिगो माग दाबी गर्दै उनीसहित अन्य १० जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।
यसरी भ्रष्टाचार मुद्दा दायर भएका कर्मचारी स्वत निलम्बनमा पर्दछन्। सामान्यले भ्रष्टाचार मुद्धामा डामिएका उनै बुढालाई दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको छ।
कर्मचारी संकेत नम्बर १८६४२१ रहेका बुढालाई सरुवा पत्रसहित मन्त्रालयले उक्त पालिकामा पठाइसकेको छ।