धनगढी: धनगढीमा एक युवक घरमै मृत अवस्थामा भेटिएका छन्। धनगढी उपमहानगरपालिका –७ बस्ने ३१ वर्षीय चन्द्रदेव भण्डारी (चन्दु) गएराति (बिहीबार) आफ्नै घरमा मृत भेटिएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रवक्ता इन्सपेक्टर सन्तोष बस्यालका अनुसार उनी झुन्डिएको अवस्थामा मृत फेला परेका हुन्। अहिले उनको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ।
प्रहरी स्रोतका अनुसार पहिले लम्की दिदीको घरमा बस्दै आएका लागुऔषध प्रयोगकर्ता समेत रहेका उनलाई ३ पटक सुधारकेन्द्रमा राखिएको थियो। त्यसपछि सुधारकेन्द्रबाट निस्किएका उनी धनगढी आएका थिए। त्यसको लगत्तै उनलाई चिकित्सकले डिप्रेसनको समेत समस्या देखाएको प्रहरीले बताएको छ।
उनको त्यहीँ अवस्थाका कारण पत्नीसँगको पनि सम्बन्धमा खटपट आयो। यतिमात्र होईन आफूलाई छुट्कारा चाहिएको भन्दै उनकी पत्नीले डिभोर्स (सम्बन्ध-बिच्छेद) को लागि मुद्दा दर्ता गरेकी थिइन्। सोही अनुसार अहिले पनि सो मुद्दा चलिरहेको छ भने अदालतमा सो मुद्दाको फाइल थन्किएको छ। अब आफैं संसार छाडेर गएपछि सो मुद्दाको प्रक्रिया उनीसँगै टुङ्गिन्छ।
यस्तै मृतक चन्दुको केही दिनमै बडिमालिका जाने योजना समेत रहेको प्रहरी स्रोतले जनाएको छ। स्रोत भन्छ,-‘भोलि पर्सि बडिमालिका जान्छु भन्दै परिवारमा कुरा गरेका रहेछन्। तर बडिमालिका जानै पाएनन्। हिजो राति मृत फेला परे।’