धनगढीः कञ्चनपुरमा विद्यालयका लेखापाललाई कुटपिटको आरोप लागेका ८ मध्ये ४ जनालाई प्रहरीले पक्राउ गरेको छ। आइतबार भीमदत्त नगरपालिका–१० जिमुवास्थित शिद्धनाथ माध्यामिक विद्यालयमा भएको घटनामा विद्यालयका लेखापाललाई कुटपिट गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी प्रकाश डाँगीका अनुसार किटानी परेकामध्ये ४ जना पक्राउ परेका छन्। किटानी जाहेरीमा नाम उल्लेख भएका स्थानीय नन्दी नाथ, आशिष टमाटा, करन ओखेडा र दीर्घराज पाण्डेयलाई पक्राउ गरिएको डिएसपी डाँगीले बताए। कुटपिटमा संलग्न करन मल्ल, मनिष विष्ट, मनोज तिरुवा र शुक्लाफाँटा नगरपालिकाका वासिन्दा दीपक भण्डारी फरार रहेको र उनीहरुको खोजी भइरहेको डिएसपी डाँगीको भनाई छ।
आइतबार विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले कक्षा १० मा अध्ययनरत १ छात्रामाथि यौनदुर्व्यवहार गरेको आरोप लागेपछि अभिभावक, स्थानीवासी र विद्यार्थी आन्दोलित भएका थिए। आन्दोलितहरुको कुटपिटका कारण लेखापाल जोशी सख्त घाइते भएका छन्। उनको अहिले धनगढीस्थित निसर्ग अस्पतालको आईसीयूमा उपचार चलिरहेको छ ।
लेखापाल जोशीविरुद्ध पनि किटानी जाहेरी परेको छ। अहिले उनको प्रहरी निगरानीमा उपचार भइरहेको छ।