धनगढी: धनगढीमा फेसबुकबाट युवतीलाई मायाजालमा पारेर बेचबिखन गर्न खोज्ने एक युवक अस्ति समातिए। युवतीलाई बेचविखन गर्ने उद्देश्यले भारत लगिरहेको अवस्थामा डडेल्धुराको गन्यापधुरा गाउँपालिका–१ का पदमबहादुर देउवा समातिएका थिए।
तर पक्राउ परेका देउवा केही समयमै धरौटीमा छुटेका छन्। गत जेठमा धनगढी उपमहानगरपालिका–१३ कैलाली गाउँ बस्ने एक युवतीलाई मायामा पारेर गौरीफन्टा नाका हुँदै भारत लगिरहेको अवस्थामा उनी समातिएका थिए।
समातिएपछि उनीविरुद्ध मानव बेचबिखनको मुद्दा चल्यो तर उनी जिल्ला अदालतको आदेशपछि ५० हजार धरौटी बुझाएर छुटे। जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोश बस्यालकाअनुसार देउवाविरुद्ध ९ जेठमा मानव बेचबिखन सम्बन्धी मुद्दा दर्ता भएको थियो भने जिल्ला अदालतले ३१ जेठमा ५० हजार धरौटीमा छाड्ने आदेश दिएको थियो।
देउवालाई शान्ति पुर्नस्थापना गृहले ८ जेठमा युवतीलाई विवाह गर्ने प्रलोभन देखाएर झापा जाने भन्दै गौरीफन्टाबाट भारततर्फ लगिरहेको अवस्थामा नियन्त्रणमा लिएको थियो।
देउवा धरौटीमा छुटेपछि पीडित पक्षले राजनीतिक शक्तिको आडमा मुद्दालाई कमजोर पारिएको आशंका व्यक्त गरेको छ। पीडित युवतीका दाजुले भने, ‘पाँच लाख पैँसा दिन्छु भनेर घरमै मान्छे पठाइएका थिए तर हामीले नमानेपछि उहाँहरुले सरकारी वकिल र अदालतसम्म दबाब दिएर अहिले धरौटीमा छाडिएको छ।’
उनकाअनुसार यो मुद्दा कमजोर बनाउन पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा परिवारका सदस्य र कांग्रेसका सभापति बिरबहादुर बलायर समेतका नेताहरु सक्रिय भएका थिए। बलायरले तरुण दलका नेता ललित बलायरको फोनबाट पीडित पक्षसँग कुराकानी गर्दै मुद्दा अघि नबढाउन दबाब दिएको आरोप लागेको छ। किनकी आरोपी युवक देउवा परिवारका सदस्य हुन्।
‘उहाँ(बलायर) र हामी नातेदार पछौँ। ललित बलयारको फोनबाट मलाई सम्पर्क गरेर स्वयंम बलायर दाजुले मुद्दा मिलाउन दबाब दिनुुभएको थियो तर मैले नमान्दा चलखेल गरेर मुद्दालाई कमजोर बनाइयो,’ पीडित युवतीका दाजुले भने। यो विषयमा प्रतिक्रिया लिन कांग्रेसका प्रदेश सभापति बलायरसँग सम्पर्क गरिएको थियो। बलायरले आफू व्यस्त भएको भन्दै समय दिन मानेनन्।
कसरी फसिन् युवती ?
गत चैतको कुरा हो, डोटीबाट भर्खर धनगढी आएर अध्ययन गरिरहेकी सपना(नाम परिवर्तन) लाई Preateet Deuba Thakuri नामको फेसबुक आइडीबाट फ्रेन्ड रिक्वेस्ट आउँछ। सपनाले सहजै रिक्वेस्ट एक्सेप्ट गर्दै उक्त व्यक्तिसँग म्यासेन्जेरमा कुराकानी गर्दै फोन नम्बर समेत अदानप्रदान गर्छिन्।
युवकले आफू अविवाहित भएको बताउदै सपनालाई मन पराउने र विवाह गर्ने प्रस्ताव राख्छन्। फेसबुक र फोनबाट कुराकानी गर्दागर्दै सपना पनि देउवाले प्रेममा परिसकेकी थिइन्। त्यसैमा उनले आफू अविवाहित, होटल म्यानेजमेन्ट कोर्ष पूरा गरेर झापाको होटलमा काम गर्ने गरेको बताएका थिए।
युवतीले प्रहरीलाई दिएको बयानअनुसार ६ र ७ जेठमा देउवाले निजलाई फोन गरेर धनगढीस्थित भाटभटेनी सुपर मार्केट नजिक भेट गर्ने, त्यहीबाट झापा जाने र झापाबाट घर फर्केर विवाह गर्ने प्रस्ताव राख्छन्। सोहीअनुसार उनीहरु दुई जना ८ गते भाटभटेनी सुपरमार्केट नजिकै भेट्छन्।
झापा जाने पूर्व योजनाअनुसार दुवै जना त्यहाँबाट अटो रिक्सा चढ्छन्। अटो बसपार्कतर्फ नभइ त्रिनगर भन्सार नाकातिर हुर्किन्छ। नाका नजिकै पुग्ने बेला देउवा अटोबाट ओर्लिन्छन् र उनलाई कसैले सोधेमा बनगाउँ जाने भन्नु भनी सुझाउछन्। नभन्दै नाकामा खटिएका शान्ति पुर्नस्थापना गृहका कर्मचारीले युवतीलाई सोधपुछ गर्छन्। सो क्रममा उनले आफू झापा जान लागेको बताउँछिन्।
शान्ति पुर्नस्थापना गृहका कर्मचारीले झापा नभएर भारततर्फ गइरहेको बताएपछि उनी आफूलाई विवाह गर्न नभएर बेचबिखनका लागि लगिरहेको थाहा पाउँछिन्।
अनुसन्धानका क्रममा ती युवक पदमबहादुर देउवा भएको खुलेको थियो। युवतीलाई उनले अविवाहित भनेपनि उनी विवाहित भएको समेत पाइएको प्रहरीले जनाएको छ।