धनगढी: कञ्चनपुरका एक इन्सपेक्टर विवादमा तानिएका छन्। पहिल्यैदेखि विवादित छवि भएका प्रहरी निरीक्षक (इन्सपेक्टर) सिताराम बिष्ट फेरि एकपटक विवादमा तानिएका हुन्।
भदौ ३ मा भीमदत्त नगरपालिका–१० स्थित शिद्धनाथ माध्यामिक विद्यालयमा घटेको घटनामा खटिएका बिष्टले सो घटना नियन्त्रण गर्न नसकेको भन्दै विवाद भैरहेको छ। सो विद्यालयका लेखापाल विरेन्द्रप्रसाद जोशीले एक छात्रालाई दुर्व्यवहार गरेको भन्दै सो दिन स्कुलमा आन्दोलन भएको थियो। तनावग्रस्त अवस्था आएपछि ती इन्स्पेक्टर बिष्टको नेतृत्वमा जिल्लाबाट प्रहरी टोली पठाइएको थियो।
तर बिष्टले भीड नियन्त्रण गर्न सकेनन्। उनले कार्यकक्षमैं गएर लेखापाल जोशीलाई हतकडी लगाए। लेखापालमाथि ढुंगामुढा भयो र कुटपिटसमेत भयो। विद्यालयबाट केही पर प्रहरीको भ्यानसम्म जोशीलाई हिँडाएर लग्ने क्रममा जोशीमाथि प्रहारहरु भएका थिए।
सो बेला इन्सपेक्टरसहितको प्रहरी टोली हेरेको हेर्यै भएको भन्दै आलोचना भैरहेको छ। ती बिष्टको फितलो सुरक्षाका कारण कुटपिट भएको आरोप लागेको छ भने कारबाहीको लागिसमेत माग गरिएको छ।
हालै डोटी सरुवा भएर रमानामात्रै लिन बाँकी बिष्टमाथि कञ्चनपुरमा दोस्रोपटक कार्वाहीको माग उठेको बताइन्छ।
गत जेठमा पनि पत्रकारमाथि कुटपिट र दुर्व्यवहार गरेको आरोपमा उनी कार्वाहीमा परेका थिए। त्यति बेला उनलाई सचेत गराइएको थियो।
यस पटक भने के कारबाही हुन्छ या हुँदैन त्यो भने हेर्न बाकी छ।