धनगढीः दार्चुलामा कांग्रेस डडेल्धुराका सभापतिसमेत रहेका भीमबहादुर साउँदको निर्माण कम्पनीले योजनाहरु अलपत्र पारेको बताइएको छ। पूर्व प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवाका निकटस्थ मानिने साउँदको राजेन्द्र निर्माण सेवाले ठूला विकास निर्माणका कामहरु अलपत्र पारेको हो।
स्रोतका अनुसार राजनीतिक पहुँच र संरक्षणको आडमा देउवासँग जोडिएका नेता ठेकेदारले ठेक्कापट्टाको काम अलपत्र पार्ने गरेका छन्। सडक, पुल र तटबन्ध निर्माणजस्ता महत्वपूर्ण क्षेत्रका आधा दर्जन ठेक्का सो कम्पनीले पाएको र निर्माण ठप्प गरिदिएको अवस्था छ। दार्चुलामा संघीय सरकारको प्रत्यक्ष लगानीअन्तर्गत सञ्चालित महाकाली कोरिडोर सडक आयोजना र महाकाली नदी नियन्त्रण आयोजनाका ४ वटा निर्माण ठेक्का लिएको राजेन्द्र निर्माण सेवाले काम ठप्प पारेको छ। ठेक्का व्यवस्थापन गर्ने निकायहरूले निर्माण कम्पनीमार्फत काम गराउन सकेका छैनन् र कारवाही पनि गर्न सकेका छैनन्। साउँदलाई देउवाको संरक्षण रहेको बताइन्छ।
चार वर्षअघि ठेक्का सम्झौता भएको महाकाली नदी नियन्त्रण आयोजनाअन्तर्गत श्रीबगर क्षेत्र र कलौन क्षेत्रमा तटबन्ध निर्माण कार्य अलपत्र छ। पटक–पटक म्याद थप गरिए पनि निर्माण कम्पनीले तटबन्ध निर्माण पूरा नगरेको बताइएको छ। नदी नियन्त्रण आयोजनामा दुइटा ठेक्का सम्झौता गरेको राजेन्द्र निर्माण सेवाले १५ करोड रूपैयाँको निर्माण गराउन बाँकी छ।
महाकाली कोरिडोर सडक आयोजनाअन्तर्गत कालोपत्रे सडक निर्माणको ठेक्का र एउटा मोटरपुल निर्माणको ठेक्कामा पनि कम्पनीले काम शुरु गरेको छैन। ०७८÷७९ मा सम्झौता भएका सडक कालोपत्रेको ठेक्कामा सूचना पाटी राख्नेबाहेक केही काम भएको छैन। महाकाली नगरपालिकाको बेतदेखि मालिकार्जुन गाउँपालिका–६ सलेतीसम्मको १३ किलोमिटर सडक कालोपत्रे गर्न कम्पनीले ठेक्का सम्झौता गरेको छ।
एक वर्षअघि ४ करोड रूपैयाँभन्दा बढी पेश्की रकम लगे पनि हालसम्म राजेन्द्र निर्माण सेवाले सडक कालोपत्रे क्षेत्रमा काम थालेको छैन। सडक कालोपत्रे निर्माण तीन वर्षभित्र गरिसक्ने ठेक्का अवधि भए पनि पहिलो वर्ष कुनै पनि काम भएको छैन।
यस्तै आठ वर्षअघि ठेक्का सम्झौता भएको सदरमुकाम क्षेत्रकै लास्कुखोलाको मोटरपुल निर्माण पनि अहिलेसम्म अलपत्र छ। गत वर्षको भदौंमा आएको बाढीले लास्कुखोलामा निर्माणाधीन पुल बगाएपछि निर्माण अलपत्र अवस्थामा छ।