काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाटै चोरी भएको करिब ९ किलो तस्करीको सुन दाओजिन वाङकै हातमा पुगेको बताइएको छ।
प्रहरी स्रोतका अनुसार भन्सार कार्यालयका कर्मचारी र विचौलियामार्फत गायब गरिएको नौ किलोमध्ये करिब ८ किलो सुन वाङकै हातमा पुगेको हो।
सो प्रकरणमा मुछिएका कृष्णबहादुर महरा र राहुल महरामाथि प्रहरीले अनुसन्धान गरिरहेको छ। वाङ भने नेपालबाट चीनतर्फ भागेका छन्।
गत पुस १० गते फ्लाई दुबईको उडानबाट काठमाडौं आएका चिनियाँ नागरिक ली हानसोङले ई–सिगरेट (विद्युतीय चुरोट) मा राखेर ल्याएको तस्करीको करिब नौ किलो सुन चोरी हुँदा पनि वाङकै हातमा पुगेको त्यसमध्ये करिब २ किलो वाङले राखेको बाँकी ६ किलो सिन्धुपाल्चोकका दुई व्यक्तिलाई बेच्न दिएको प्रहरी उच्च स्रोतको दाबी छ। यो विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
हाल सो प्रकरणमा मुछिएका राहुल महरालाई नियन्त्राणमा लिएर प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले अनुसन्धान गरिरहेको छ।