काठमाडौंः काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह श्रीलंका जाँदै छन्। उनी आज हिमालयन एयरलाइन्सको उडानमार्फत एसिया कप हेर्न श्रीलंका जान लागेका हुन्। एसिया कपअन्तर्गत सोमबार नेपाल र भारतको खेल हुँदैछ।
समूह एमा रहेको नेपाल बुधबार भएको पहिलो खेलमा पाकिस्तानसँग पराजित भएको थियो। स्रोतका अनुसार उनीसहित तीनजनाको टोली आज श्रीलंका जान लागेको हो। यही समूहमा रहेका भारत र पाकिस्तानले भने वर्षाले खेल रद्द हुँदा अंक बाँडेका छन्।
बालेन हालै सुत्केरी भएकी पत्नी सविना काफ्लेलाई छोडेर श्रीलंका जान लागेका हुन्। उनकी पत्नी सविनाले एकसाता अघिमात्रै मोडिसिटी अस्पतालमा जुम्ल्याहा शिशुलाई जन्म दिएकी थिइन्। तर अस्पताल स्रोतले एक शिशुको मृत्यु भएको र एकको एनआइसियुमा उपचार भैरहेक जनाएको छ।
बालेनपत्नी सविनाले बच्चालाई दुध खुवाउन घरबाट नै अस्पताल आउजाउ गर्ने गरेकी छन्। सोही क्रममा हिजो अस्पतालबाट फर्किने क्रममा सविना सवार महानगपालिकाको गाडी कोटेश्वरमा ट्राफिक प्रहरीको चेकिङमा परेको थियो। ट्राफिक प्रहरीले बिदाका दिन सरकारी नम्बर प्लेटको गाडी चलाउन आवश्यक अनुमतिपत्र मागेका थिए।
तर, ड्राइभरसँग अनुमतिपत्र नरहेको र बालेनकी पत्नी सवार रहेको भनेपछि छोडिदिएको स्रोतको भनाइ छ। तर, बालेनले गाडी रोकेकोमा सिंहदरवारमा आगो लगाइदिने धम्की दिएपछि उनको चर्को आलोचना भैरहेको छ। सोही आलोचनाकाबीच उनी श्रीलंका उड्न लागेका हुन्।