कैलाली : पैसा नदिएका कारण ८३ वर्षी हजुरआमाको विभत्स हत्या गर्ने मालिकार्जुन गाउँपालिका–७ का २१ वर्षीय दीपक चन्द र दुहु गाउँपालिका–३ का १८ वर्षीय आशीष बम पक्राउ परेका छन् ।
भदौ ८ गते दार्चुलाको जोलजिवी हुँदै भारत जाने योजना बनाएका दीपक र आशीषसँग गाडी भाडा समेत नभएपछि उनीहरु फर्किए । ‘मेरो आमा (हजुरआमा) सँग पैसा मागौला । उनीसँग पैसा लिएर भारत जाउला’ चन्दले सँगै रहेका आशीष र अर्का एक जनालाई सुनाए । दीपक र आशीष पैसा माग्न भन्दै मालिकार्जुन गाउँपालिका–७ स्थित टोपालीकी ८३ वर्षीया भागरथी चन्दको घरमा पुग्छन् । ८३ वर्षीया भागरथी चन्दको दीपक चन्दको हजुर आमा हुन् ।
उनी घरमा आमा एक्लै बस्थिन् । दीपकको बुवा करिब १२ बर्ष देखी सम्पर्कविहीन छन् भने अमा दिदी भारतमै बस्छन् । दीपक भने महाकाली नगरपालिका ४ बागावगडमा परिवारसँगै होटेल गरेर बसिरहेका थिए । त्यस दिन पैसा माग्न गएका दीपक र आशीषले पैसा नपाएपछि भागरथीको बीभत्स हत्या गरे ।
पैसा माग्दा नदिएपछि सुरुमा कैँची उठाएर घाटीमा हाने, हसियाले घाटी रेटे र पेटमा पटक पटक सानो चक्कुले रोपेर बीभत्स हत्या गरेको पाईएको एक प्रहरी अधिकारीले बताए ।
८ गते भागरथीको हत्या भएपनि प्रहरीले भने घटनाबारे १० गते साझ थाहा पाएको थियो । त्यो बेला सम्म उनीहरु दुवैजना पुलघाट हुँदै भारतको पिथौरागढ टनकपुरबाट पलिया पुगिसकेका थिए। त्यहीबाट बरेली हुँदै जाँदै थिए । भागरथीको हत्या गरेर घरमा भएको ४० हजार पैसा र उनले कानमा लगाएको सुन समेत लगेर उनीहरु भागेका थिए । उनीहरुले लगेको सुनको गहना ९० हजारमा बेचे । दुवै जनाले आकस्मिक रुपमा हत्या गरे पनि उनीहरुले त्यसपछि घटनालाई रहस्यमय बनाउन निकै ठूलो योजना बनाएका थिए ।
हत्या पछि नाति फरार भएको विषयले घटनामा दीपकको संलग्नता रहेको बुझ्न प्रहरीलाई समय लाग्दैन । ८ गते जोलजिवीको पुलमा दीपकसँगै आशीषको पनि फोटो प्रहरी फेला परेपछि उनीहरु दुबै जना माथि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । ८ गते स्थानीयले पनि प्रहरीलाई दीपकसँगै अर्का एक व्यक्ति पनि देखेको बयान दिएका थिए । त्यसले प्रहरीको शङ्का अझै बलियो बनायो ।
उनीहरु दुवैको प्रहरीले रेक्की सुरु गर्छ । १२ गते उनीहरु दुबै जनालाई कञ्चनपुर स्थित भिमदत्त नगरपालिका–४ स्थित महेन्द्रनगर बसपार्कबाट प्रहरीले पक्राउ गरेको थियो । दुवै जनाबाट प्रहरीले २१ हजार रकम पनि बरामद गर्यो । उनीहरुले बयानमा गहना बचेको बारे बताएपछि गहन बेच्न प्रयोग भएका व्यक्ति र किनेका व्यक्तिलाई पनि प्रहरीले अहिले पक्राउ गरिसकेको छ । प्रहरीले जानकारी पाएको तीन दुई भित्रै दुबै जनालाई पक्राउ गरेको थियो । प्रारम्भिक अनुसन्धान सकेर आज दुबै जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।
नेपालको सिम अफ गरेर भारतीय सिमा प्रयोग गरिरहेका उनीहरु काठमाडौँ लुकेर बस्ने योजना सहित भारतबाट पुन गड्डाचौकी नाका हुँदै नेपाल प्रवेश गरे लगत्तै पक्राउ परेका हुन् ।