धनगढीः दार्चुलामा एक युवक कुटपिटमा परेका छन्। हिजो (शुक्रबार) जिल्लाको मालिकार्जुन मन्दिरमा गौरा हेर्न गएका २१ वर्षीय दिनेशसिंह धामी कुटपिटमा परेका हुन्। धामीका आफन्तका अनुसार शैल्यशिखर नगरपालिकाका पूर्व मेयर अमरसिंह धामीको ८/१० जनाको समूहले उनलाई कुटेको हो।
पूर्व मेयरको निर्देशनमा उनका केटाहरुले धामीलाई कुटेको आरोप लागेको छ। मदिरा सेवन गरेपछि विवाद भएकोमा कुटपिट घटना भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका डिएसपी शिवबहादुर सिंहले महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार कुटपिटमा संलग्न ८/१० जनाविरुद्ध पीडितले निवेदन दिएका छन्। उनीहरु डिफाइन भएको भन्दै प्रहरीले चाडै उनीहरुलाई नियन्त्रणमा लिने जनाएको छ।
धामी र अर्को समूहको एक होटेलमा विवाद भएर झगडा भएको थियो। प्रहरीका अनुसार मालिकार्जुन मन्दिर नजिकैको चैतलीचोर बजारमा रहेको होटलबाट बाहिर निस्किने क्रममा धामीलाई एक समूहले आक्रमण गरेको हो। अहिले आक्रमणबाट घाइते भएका धामी धनगढीमा प्रारम्भिक उपचारपछि अहिले दार्चुला पुगेका छन्।
घाइते धामीका आफन्तले कुटपिटमा संलनहरूलाई गोकुलेश्वर प्रहरीका इन्सपेक्टर मानसिंह ऐरीले नै सेटिङमा भगाएको आरोपसमेत लगाएका छन्। उनीहरू घटनापछि पूर्व मेयरकै गाडीमा भागेको बताइन्छ। गौराको सुरक्षाको कमाण्ड इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रमुख इन्स्पेक्टर मानसिंह ऐरीको टोलीलाई दिइएको थियो।
तर, उनको फितलो सुरक्षा कमाण्डका कारण घटना घटेको बताइएको छ। ऐरीले घटनाको समाधान खोज्नुको साटो पीडकलाई भगाएको आरोप लागेको हो। तर ऐरीले भने सो आरोप निराधार रहेको दाबी गरेका छन्।