धनगढी: प्रधानमन्त्री कप महिला टी-२० राष्ट्रिय प्रतियोगितामा साविक विजेता सुदूरपश्चिम पहिलो खेलमै पराजित भएको छ।
मुलपानी मैदानमा आज भएको खेलमा सुदूरपश्चिमलाई विभागीय टोली एपीएफले ९ विकेटले पराजित गरेको हो।
सुदूरपश्चिमले दिएको ८८ रनको लक्ष्य एपीएफले १६.१ ओभरमा १ विकेट मात्र गुमाउदै पुरा गरेको थियो।
एपिएफकी ओपनर ज्योती पाण्डेले नटआउट ४९ रन र इन्दू बर्माले नटआउट ३१ रन जोडिन्। पाण्डेले ४८ बलमा ९ चौका र बर्माले ४४ बलमा ४ चौका हिर्काए। त्यसअघि कप्तान सीता रानामगर ४ रनमै आउट भएकी थिइन्।
टस जितेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ९ विकेटको क्षतिमा ८७ रन जोड्यो। सुदूरपश्चिमका लागि कविता जोशीले सर्वाधिक २२ रन जोडिन्।
बलिङमा एपिएफकी सोनु खड्काले २ विकेट लिँदा सुमन विष्ट, करुणा भण्डारी र इन्दू बर्माले १/१ विकेट लिए।
राष्ट्रिय खेलकुद परिषदको कार्यक्रम अन्तर्गत नेपाल क्रिकेट संघ क्यानले आयोजना गरेको प्रतियोगितामा कूल ८ टोली सहभागि छन्। यस पटक प्रधानमन्त्री कप महिला क्रिकेट राउण्ड रोविनको फर्म्याटमा हुँदैछ।