काठमाडौं : नेपाल सुपर लिग (एनएसएल) फुटबलमा आज दुई खेल हुँदैछन्। आजको पहिलो खेलमा शीर्ष स्थानको पोखरा थन्डर्स र दोस्रो स्थानको धनगढी एफसीबीच दिउँसो एक बजे खेल हुनेछ।
पोखराको ७ खेलमा १४ अङ्क र धनगढीको समान खेलमा १२ अङ्क छ। पोखरा प्लेअफमा पुगिसकेको छ। धनगढीले प्लेअफ खेल्न आज जित या बराबरी गर्नुपर्नेछ। हारेमा भने अरु खेलको नतिजामा भर पर्नुपर्नेछ।
आजको दोस्रो खेलमा झापा एफसी र एफसी चितवन बेलुका ५ बजे खेल्नेछन्। चौथो स्थानमा रहेको झापाको ७ खेलमा १० अङ्क र पुछारमा रहेको चितवनको समान खेलमा ६ अङ्क छ। झापाले आजको खेल जितेमा प्लेअफमा पुग्नेछ। तर बराबरी या हारले अरु खेलको नतिजामा निर्भर हुनेछ।
चितवन प्लेअफ होडबाट बाहिरिसकेको टोली हो। यी दुवै खेल दशरथ रङ्गशालामा हुनेछन्। हिजो भएको खेलमा विलियम ओपोकुको ह्याट्रिकमा वीरगञ्जले काठमाण्डौ रेजर्सलाई ४–१ गोलको फराकिलो अन्तरले हरायो।
वीरगञ्ज ७ खेलमा ८ अङ्ककासाथ तालिकाको छैटौँ र काठमाण्डौ ९ अङ्कसहित पाँचौँ स्थानमा यथावत छ।