धनगढी : दार्चुलाको शैल्यशिखर नगरपालिकामा कार्यरत सह(लेखापाल बिजय कुमार बिष्टलाई धम्क्याएर मध्यराति चेक काट्न लगाएको घटना बाहिरिएको छ।
नगरपालिकामा कार्यरत इन्जनियर योेगेशसिहं धामी र सब इन्जनियर सुनिल रावल सहितको समूहले मध्यराति लेखापाल बिष्टको घरमा गएर धम्काएका हुन्।
घटना गत पुस २८ गतेको हो। सो दिन मध्यराति मदिरा सेवन गरेर इन्जिनियर धामी र उनका केही सहयोगीहरु लेखापाल बिष्ट बस्ने घरमा छिरेका थिए। उनीहरुले राति नै कार्यालयमा गएर भ्रमण बिल र मोटरसाइकल मर्मतको रकम भुक्तानी गर्न धम्काएका थिए।
कार्यालय प्रमुखले तोक लगाएको जुनसुकै बिल भरपाईहरु तुरुन्तै पास हुनुपर्ने भन्दै उनीहरुले राति कार्यलयमा गएर चेक काट्न दबाव दिएका थिए। शाखाको काम रोकिएको खण्डमा आफूहरुले सार्वजनिक स्थानमा कुटपिट गर्ने लगायतका धम्कीहरु दिएका थिए।
यस्तै इन्जिनियर धामीले लेखापाललाई म्यासेजमार्फत पनि धम्की दिएका छन् । महेन्द्रनगर पोष्टलाई प्राप्त भएको म्यासेजमा धामीले अपशब्द प्रयोग गर्दै ‘फोन किन काटेको भोली बस्नु छ कि नाई फोन गर’ भनेका छन् ।
यसरी लेखापाललाई मध्यराति घरमै गएर धम्काएको घट्नाको उजुरी हाकिमको टेबलमा पुगेको छ। लेखापाल बिष्टले मध्यराति घरमा गएर धम्काउने, कुटपिट गर्ने जस्ता क्रियाकलापले ज्यान जोखिममा रहेको भन्दै आवश्यक कारबाहिको लागि प्रमुख प्रशासकीय अधिकृत पुष्कर सिहं धामीलाई निवेदन दिएका छन्।
बिष्टले घटनाको छानबिन नहुन्जेलसम्म काम गर्न नसकिने भन्दै कार्यालय छाडेर हिडेको बताइएको छ।