डडेल्धुराः डडेल्धुराको अजयमेरु गाउँपालिकामा उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। ‘दीर्घ जीवनका लागि खेलकुद’ भन्ने नाराका साथ आधारभूत विद्यालय स्तरीय दोस्रो उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको हो।
बिहीबार चन्बेताल खेल मैदानमा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिमका संसदीय दलका नेता एवं प्रदेशसभा सदस्य खगराज भट्टले प्रतियोगिताको उद्घाटन गरे। गाउँपालिकाभित्रका १७ वटा आधारभूत विद्यालयहरूले प्रतियोगीतामा सहभागिता जनाएका छन्।
प्रतियोगिता १३ गते समापन हुने गरी खेलहरूसञ्चालन भइरहेको अजयमेरु गाउँपालिका शिक्षा शाखा प्रमुख लालबहादुर सेटीले बताए। गत वर्षबाट गाउँपालिकाले आधारभूत तहका विद्यालयका विद्यार्थीहरूको खेलप्रति रुचि बढाउन उक्त प्रतियोगिता आयोजना गर्न थालेको उनले बताए।
प्रतियोगितामा दौड, कराते, हाइजम्प, लम्जम्पलगायतका खेलहरू खेलाइँदैछ। जिल्लाका ७ वडा स्थानीय तहमध्ये अजयमेरु गाउँपालिका बाहेक कुनैले पनि उपराष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता गर्न सकेका छैनन्।