धनगढी : क्रिकेटर सुसान्त कार्कीले कैलाली जिल्ला क्रिकेट संघले गरेको खेलाडी छनोटलाई लिएर असन्तुष्टि व्यक्त गरेका छन्।
कार्कीले खेलाडी छनोटको विषयलाई लिएर बिहीबार सुदूरपश्चिम खेलकुद परिषद धनगढी, कैलालीलाई आवश्यक छानबिनका लागि आग्रह गरेका हुन्।
कार्कीले निवेदनमा विगत १७ वर्षदेखि यहि क्षेत्रको लागि क्रिकेट खेलिरहेको जनाउँदै खेलाडीको रनरेट तथा क्षमताको आधारमा खेलाडी छनौट गर्नु पर्ने भएपनि भनसुनको भरमा खेलाडी छनोट गरिएको आशंका व्यक्त गरेका छन्।
छनोट प्रतियोगितामा कार्कीले उत्कृष्ट प्रदर्शन गरेका थिए।उनले खेलेका ४ वटा खेलमध्ये पहिलो खेलमा ५२, दोस्रोमा ५४, तेस्रोमा ५ र चाैथोमम १५ रन बनाएका थिए तर, खेलाडीको नामावलीमा उनको नाम समावेश भएन्।
निवेदनमा उनले लेखेका छन्, ´राम्रो प्रदर्शन नगरेका साथीहरुको नाम राखिएको छ। आफ्नो नाम नदेख्दा म एकदमै निरास का साथै मेरो खेलकुद प्रति मनोबल निकै कमजोर भएको छ। विगतमा पनि पक्षपात र भनसुनका आधारमा तथा आफ्ना नजिकका नातागोतालाई छनाैट गरिने गरेको अवगत गराउँदै देशको लागि केही गराैं भन्ने सम्पूर्ण खेलाडीको सम्मान होस् भनी न्याय गरिदिन अनुरोध गर्दछु।`
यसैबीच, क्रिकेटर कार्कीको निवेदन पश्चात् सुदूरपश्चिम प्रदेश खेलकुद परिषदले प्रदेश क्रिकेट संघ धनगढी, कैलालीलाई छानविन गरि रायसहितको प्रतिवेदन पेश गर्न निर्देशन दिएको छ।
परिषद्का सदस्य सचिव दिपकबहादुर सिंहले प्रदेश क्रिकेट संघ धनगढीलाई दिएको निर्देशनमा भनिएको छ, ´ क्रिकेट खेलाडी कार्कीले कैलाली जिल्ला क्रिकेट संघले सञ्चालन गरेको छनौट प्रतियोगिता राम्रो प्रर्दशन गर्दा पनि छनौटमा नपरेको भन्ने गुनासो गरेकोले यथार्थ छानबिन गरी रायसहितको प्रतिवेदन दुई दिन भित्र कार्यालयमा पेश गर्न निर्देशन गरिन्छ।`