बैतडी : बैतडीमा जारी प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौट अर्थात प्लेट च्याम्पियनसिपको उपाधि बझाङले हात पारेको छ।
उपाधिसंगै बझाङ इलाइट च्याम्पियनसिपका लागि पनि छनौट हुन सफल भएको छ। प्लेट च्याम्पियनसिपको अन्तिम खेलमा शुक्रबार डोटीलाई ६ विकेटले हराउदै बझाङ छनौट भएको हो।
जितका लागि पाएको १८६ रनको लक्ष्य बझाङले २९ ओभरमा ४ विकेटको क्षतिमा पूरा गर्यो।
जसमा सनम बुढाथोकीले अर्धशतकीय पारी खेल्दै ७२ रनको योगदान गरे। सनम खेलका म्यान अफ द म्याच घोषित भएका स्कोरर दीपेन्द्रबहादुर बोहराले बताए।
यसअघि दशरथचन्द क्रिकेट मैदान सुन्दरखालीमा टस हारेर ब्याटिङको निम्ता पाएको डोटी ८ विकेटको क्षतिमा १८५ रन बनायो । उसका खगेन्द्र जोशीले ६३ रनको पारी खेले। बझाङका पारस रोकायाले २ विकेट हात पारे।
विजेता टोलीलाई दशरथचन्द नगरपालिकाका पुर्व नगरप्रमुख नरेन्द्रसिंह थापा,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका उपाध्यक्ष रमेश बोहरा,बैतडी जिल्ला क्रिकेट संघका अध्यक्ष विनोदबहादुर चन्द,उपाध्यक्ष लोकराज जोशी, सचिव सिद्धराज बोकटीलगायतले पुरूस्कार वितरण गरे।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजना तथा बैतडी जिल्ला क्रिकेट संघको सहआयोजनामा पुस ८ गतेदेखि प्रतियोगिता सञ्चालन भएको थियोे ।
प्रादेशिक क्रिकेट संघले यसवर्षदेखि दुई चरणमा प्रदेश छनौट गरिररहेको छ। पहिलो चरणमा बैतडीमा प्लेट च्याम्पियनसिप भएको हो। दोस्रो चरणमा बैतडी र कैलालीमा ईलिट च्याम्पियनसिपका खेलहरू हुनेछन्।
प्लेट च्याम्पियनसिपमा दार्चुला,बझाङ,डडेल्धुरा,डोटी तथा ईलिट च्याम्पियनसिपमा बैतडी,कैलाली,कञ्चनपुर, अछाम र बझाङ सहभागी हुनेछन्।
गतवर्षको प्रदेश छनौटमा सेमिफाइनल पुगेका टोलीले सोझै ईलिट च्याम्पियनसिप र सेमिफाइनलमा नपुगेका टोलीले प्लेट च्याम्पियनसिप खेलेका हुन्। ईलिट च्याम्पियनसिपको पहिलो खेलमा शनिबार बैतडी र बझाङबीचको खेल बैतडीमै हुनेछ।