काठमाडौं : रोजगारी अनुमति प्रणाली (इपीएस) परीक्षाको विषयलाई लिएर शुक्रबार केही युवाहरु बालकुमारी सडकमा आन्दोलन गर्न उत्रिए । आन्दोलनमा भौतिक पूर्वाधकार तथा यातयात मन्त्री प्रकाश ज्वालाको गाडी जलाईयो । त्यसपछि घटनाले उग्ररुप लियो । सुरक्षाकर्मीको तैनाथ गरियो । आन्दोलनलाई साम्य बनाउन प्रहरीले बल प्रयोगसँगै गोली चलायो ।सोही क्रममा दैलेखको महाबु गाउँपालिका– ६ का २३ बर्षीय सुजन राउत माथि बज्रियो प्रहरीको लाठि । गत वर्ष उच्च रक्तचापका कारण बुवाको मृत्युपछि परिवारको जिम्मेवारी धान्न सुजन काठमाडौं आएका थिए ।
काठमाडौं आएर उनी कोरिया जान भाषा परीक्षा पढ्न थाले । गाउँबाट ऋण काढेर काठमाडौं आएका उनको सपना विधवा आमालाई खुशी बनाउनु थियो । साना दुई भाइबहिनीलाई पढाउनु थियो । तर, उनी कोरिया जान पाएका थिएनन् । एक वर्ष भइसक्दापनि भाषा परीक्षामा सहभागी हुन पाएका थिएनन् ।
भाषा परीक्षामा सहभागी हुन पाउनुपर्ने माग गर्दै काठमाडौंमा आन्दोलन चल्यो । सोही क्रममा शुक्रबार उनी काठमाडौंको बालकुमारीमा भएको आन्दोलनमा सहभागी भएका थिए ।प्रहरीसँगको मुठभेडमा उनीमाथि लाठी बज्रियो । छातीमै लाठी प्रहार भएका उनको मृत्यु भयो । अब आमा र भाइबहिनीलाई खुसी दिने उनको सपना पनि अधुरै रह्यो । एकातिर सुजनको कोरिया सपना बिलाएको छ भने अर्कातिर परिवारको एक मात्र आशा निभेको छ। उनकी विधवा आमा नन्दाको बुढेसकालको खम्बा कहिल्यै नउठ्ने गरी ढलेको छ ।
शुक्रबार दिउँसो करिब १२ वजे झडपमा परी घाइते भएका उनलाई उपचारको लागि किस्ट अस्पताल लगिएको थियो । चिफ अफ अपरेसन अमिस पाठकका अनुसार राउतलाई १२ः४० तिर अचेत अवस्थामा अस्पताल पुर्याइएको थियो । त्यसपछि मेडिकल टिमले सिपिआर गरेपनि सफल नभएपछि सवा १ बजे मृत घोषणा गरिएको थियो । उनको छातिमा निल डाम देखिएको छ ।