धनगढी : नेकपा एमाले संसदीय दलका नेता राजेन्द्रसिंह रावलले सुदूरपश्चिम सरकार उल्टो बाटोमा हिँडिरहेको बताएका छन् ।
प्रदेश सभाको एक वर्ष पुरा भएको अवसरमा पत्रकार सम्मेलनको आयोजना गर्दै नेता रावलले प्रदेश सरकार प्रति खरो टिप्पणी गर्दै यस्तो बताएका हुन् । नेता रावलले भने, ‘अहिले सरकार उल्टो बाटोमा हिँडिरहेको छ, सरुवाको नाममा सरकारले कर्मचारीहरूलाई त्रसित गराएको छ ।’ संसदीय समितिले अहिले सम्म पनि सभापति पाउन नसकेको भन्दै उनले सरकार गैर जिम्मेवार भएको बताए । ‘अहिले पनि ज्येष्ठताको आधारमा काम चलाऊ काम भइरहेको छ’ उनले भने, ‘संसदीय अध्यास भएका छैन । संसदीय मर्यादामा काम भएको छैन । ’
गठबन्धनको सरकार बहुमतको धङधङीमा रहेको भन्दै कानुन निर्माणमा चासो नदिएको र निर्माण भएका कानुनहरूको कार्यान्वयनमा पनि मौन रहेको आरोप लगाए । उनले पुराना कानुन संशोधन गर्नु पर्ने अवस्थामा पनि सरकारले चासो नदिएको बताए । ‘जनताको अधिकार सुनिश्चित गर्न सकेको छैन । व्यक्तिलाई विधि भन्दा माथि राखेको छ । सरकार जनताका विषयमा मौन छ ’ रावलले भने ।
सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्षसँग रहने उल्लेख गर्दै उनले अहिले सुदूरपश्चिममा त्यसमा पनि राजनीति हुन लागेको बताए । सांसदलाई सरकारले प्रयोग गर्न नसकेको भन्दै उनले अहिले सरकार भ्रमणमै केन्द्रित भएको बताए । सुदूरपश्चिम प्रदेशमा भूकम्पबाट पीडित भएकाहरूको विषयमा पनि सरकार गम्भीर नभएको रावलको भनाइ थियो ।
उनले सुदूरपश्चिमका मुख्यमन्त्री पनि प्रचण्ड पथ तर्फ केन्द्रित भएको आरोप लगाए । ‘ मुख्यमन्त्री पनि प्रचण्ड पथ तर्फ केन्द्रित भएको जस्तो लागेको छ’ उनले भने, ‘कुनै उपलब्धि देखिएको छैन । अहिले कमिसनमा योजना बाँड्ने मात्रै काम भइरहेको देखिएको छ । ’
रावलले सरकारले आयोजना गर्न लागेको विकास तथा लगानी सम्मेलनको विषयमा पनि प्रश्न उठाए । यो विषयमा कुनै छलफल भएको छैन उनले भने, विज्ञ भन्दा पनि आसेपासे त्यहाँ भर्ती गरिएको छ। उनले संसदीय समितिहरू आफ्नो काम थाती राखेर गरिरहेको भ्रमण प्रति पनि विरोध जनाए ।
यस्तै एमालेकै सांसद धर्मराज पाठकले पनि सरकार गैर जिम्मेवार भएको टिप्पणी गरे । अहिले को सरकार कुहिरोमा हराएको काग जस्तो भएको पाठकको भनाइ थियो । नीति तथा कार्यक्रम एउटा ल्याएर बजेट अर्को ल्याउने र अहिले त्यही बजेट पनि कार्यान्वयन हुन नसक्ने अवस्था आएको उनले जिकिर गरे ।
सरकारको उपलब्धि नरहेको उनले बताए । पाठकले प्रदेश सरकारले प्रदेश सभामा तालाबन्दी गरेको समेत टिप्पणी गरेका थिए ।
‘संसदीय समितिका सभापति चयन हुन सकेका छैनन् । सरकारले बिजनेस दिन सकेको छैन’ उनले भने ‘प्रदेश सभामा सरकारले भोटे ताल्चा लगाएको छ । सरकारको अकर्मण्यता कारण प्रदेश सभा पनि सुस्त भएको छ । ’ उनले संसदीय समितिहरू पनि भ्रमणमा केन्द्रित भएको भन्दै आलोचना गरे ।
अघिल्लो वर्ष पुस १५ गते सुदूरपश्चिम प्रदेश सभा सदस्यहरूले शपथ ग्रहण गरेका थिए ।आफ्नो कार्यकालको पहिलो वर्ष पुरा गर्दा पनि प्रदेश सभाले पर्याप्त काम गर्न नसकेको भन्दै आलोचना भइरहेको छ । एक वर्षमा सुदूरपश्चिम प्रदेश सभाले कुनै पनि नयाँ कानुन निर्माण गर्न सकेको छैन । अहिले सम्म विषयगत समितिले नेतृत्व पाउन सकेको छैन भने समितिका कार्यालयहरू पनि तयार भएका छैनन्