काठमाडौँ : कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयबहादुर पराजुलीसहित ४ जनालाई थुनामा पठाउने आदेश दिएको छ ।
मंगलबार जिल्ला अदालत कास्कीले पोखराको मित्रमिलन सहकारी ठगी प्रकरणमा पक्राउ परेका पराजुलीसहित ४ जनालाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
न्यायाधीश ऋषिराज आचार्यको इजलासले सहकारी ठगी प्रकरणमा जोडिएका सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीका पूर्व रजिस्ट्रार पराजुलीसहित गोपाल खनाल, बुद्धिसागर पौडेल र राजु बराललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको सूचना अधिकारी अधिकारीले जानकारी दिए ।
सहकारी रजिस्ट्रारको कार्यालय गण्डकीको तत्कालीन रजिस्ट्रारको जिम्मेवारी सम्हालेकाबेला मित्रमिलन सहकारीको कार्यक्षेत्र विस्तार गर्न १ करोड २५ लाख रुपैयाँ घुस लिएको आरोप पराजुलीमाथि छ । उनी पुस ११ गते कुश्मा नगरपालिकाको आफ्नो कार्यकक्षबाटै पक्राउ परेका थिए ।