धनगढी: कैलालीमा जालपादेवी केबलकारको निर्माण सुरु भएको छ। शनिबार एक कार्यक्रमकाबीच केबलकार योजनाको शिलान्यास गरिएको हो। परराष्ट्रमन्त्री आरजु राणा देउवाले कैलालीको चिसापानीदेखि राजकाँडा जोड्ने केबलकारको शिलान्यास गरेकी हुन्।
चन्द्रागिरी केबलकारका सञ्चालकसमेत रहेका नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल र जिल्ला समन्वय समिति कैलालीका पूर्वसभापति सूर्यबहादुर थापाको समूहले जालपादेवी केबुलकार निर्माण गर्न लागेको हो।
सञ्चालक चन्द्रप्रसाद ढकालले जालपादेवी केबलकारले सुदूरपश्चिमसहित छिमेकी प्रदेशको आर्थिक, सामाजिक र सांस्कृतिक विकासमा योगदान पुगाउने विश्वास व्यक्त गरे। पर्यटन प्रवद्र्धनका लागि पनि केबलकार कासेढुंगा सावित हुने उनको दाबी थियो।
एक वर्षमा निर्माण सम्पन्न गर्दै सो केवलकार सञ्चालनमा ल्याउने उद्देश्यका साथ काम थालिएको बताइएको छ। आयोजनास्थलमा एक हजार आठ सय ६६ वटा रुख काटिएका छन्।
संचालकका अनुसार सात अर्ब रुपैयाँको लगानीमा निर्माण हुन लागेको केबलकारको कूल लम्बाइ तीन दशमलब एक किलोमिटरको हुनेछ। केबलकारको यात्रामा कर्णाली नदी, जालपादेवी, कालभैरब, कालिकादेवी, कैलाश धामलगायतका धार्मिकस्थल, हात्ती ढुङ्गालगायत पर्यटकीयस्थलको अवलोकन गर्न सकिने छ।
केबलकारबाट हुने कूल आम्दानीको दुई प्रतिशत स्थानीय सरकारलाई उपलब्ध गराउने बताइएको छ। यस्तै केबलकारको निर्माणसँगै चिसापानीमा ५० बेड र राजकाँडामा एक सय बेड क्षमताका होटेल र सभाहल निर्माण गरिने बताइएको छ।
यस्तै आरजूले केवलकारको शिलान्यास गर्नु अगाडि धनगढीमा बोल्दै परराष्ट्रमन्त्री कैलालीबाटै चुनाव लड्ने घोषणा गरेकी छन्।
शनिबार कैलालीको धनगढीमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उनले फेरि कैलालीको धनगढीबाटै चुनाव लड्ने घोषणा गरेकी हुन्।
‘पहिला पनि यही क्षेत्रबाट चुनाव लडेको थिएँ, केही कारणले हारियो होला। फेरि पनि यही आएर चुनाव लड्ने मेरो विचार छ,’ उनले भनिन्।