महेन्द्रनगर : सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्को आयोजनामा आगामी माघ १४ गतेदेखि महेन्द्रनगरमा तेस्रो मुख्यमन्त्री कप पुरुष राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ।
महेन्द्रनगरमा आज आयोजित पत्रकार सम्मेलनमा सुदूरपश्चिम प्रदेश खेलकुद परिषद्का सदस्यसचिव दीपकबहादुर सिंहले भलिबलको विकास र विस्तार गर्न मुख्यमन्त्री कप हुन लागेको जानकारी दिए। प्रतियोगिताको विजेताले नगद ४ लाख रुपैयाँ पुरस्कार पाउने उनले बताए।
सदस्यसचिव सिंहका अनुसार प्रतियोगितामा दोस्रो हुने टोलीले नगद २ लाख रुपैयाँ तथा तेस्रो हुने टोलीले नगद १ लाख रुपैयाँ पुरस्कार पाउनेछन्। प्रतियोगितामा ७ प्रदेशका साथै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका टोली सहभागी हुनेछन्।
‘प्रतियोगितामा सहभागी टोलीको यातायात, आवास, खानपिनलगायत व्यवस्था परिषद्ले गर्नेछ,’ प्रदेश सदस्यसचिव सिंहले भने, ‘प्रतियोगिताको समन्वय तथा व्यवस्थापन कञ्चनपुर जिल्ला भलिबल सङ्घले गर्नेछ।’
प्रतियोगिगतामा कूल १७२ जना खेलाडी सहभागी हुने आयोजकले जनाएको छ। पत्रकार सम्मेलनमा नेपाल भलिबल सङ्घका केन्द्रीय अध्यक्ष जितेन्द्रबहादुर चन्द, राष्ट्रिय भलिबल टोलीका पूर्वकप्तान भरत शाह, कञ्चनपुर जिल्ला खेलकुद विकास समितिका अध्यक्ष कुबेर खड्का, जिल्ला भलिबल सङ्घका अध्यक्ष श्यामसिंह मौनी, जिल्ला भलिबल सङ्घका पूर्व अध्यक्ष मोहन थापालगायत उपस्थित थिए।