सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा फेरि कर्फ्यु आदेश जारी भएको छ।
नगर अस्पताल स्वामित्वका विषयमा झडप हुँदा गएकाे शुक्रवार एक जनाको ज्यान गएपछि कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रशासन कार्यालय सर्लाहीले हिजो शनिवार बिहानदेखि कर्फ्यु हटाएर निषेधाज्ञा जारी गरेको थियो।
तर स्थानीयले प्रदर्शनलाई जारी राखेपछि प्रशासन कार्यालयले आज आइतवार फेरि कर्फ्यु आदेश जारी गरेको हो।
आज दिउँसो पौने १ बजेदेखि लागू भएको कर्फ्यु भोलि साेमवार बिहान ८ बजेसम्म कायम रहने प्रशासन कार्यालयले जनाएको छ।
शुक्रवार भएको झडपमा बरहथवा–५ का जयशंकर शाहको ज्यान गएको थियाे। उहाँको शव अझै सडकमै रहेको छ।
स्थानीयले आफूहरूकाे माग पूरा नभएसम्म शव उठाउन नदिने अडान राखेका छन्।
हिजो गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न समिति गठन गर्नुका साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो।
तर, स्थानीयले आफूहरूको माग पूरा नभएको भन्दै प्रदर्शनलाई जारी राखेका छन्। उनीहरूले गोली चलाउने प्रहरीलाई कारबाहीको माग गरेका छन्।
त्यस्तै बरहथवाका मेयरले राजीनामा दिनुपर्ने, प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको अस्पताल बनाउनुपर्ने र अस्पतालको नाम जयशंकरको नामबाट राख्नुपर्ने माग गरेका छन्।
त्यसैगरी मृतकलाई शहीद घोषणा गर्नुपर्ने, अस्पतालमा मृतकको शालिक निर्माण गर्नुपर्ने, इलाका प्रहरी कार्यालय बरहथवाका प्रमुख एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) गंगाबहादुर थापालाई तत्काल निलम्बन गर्नुपर्ने माग राखेका छन्।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले सर्वदलीय बैठकबाट समस्याको निकास खोज्न पहल भइरहेको बताए।
गोली चलाएको आरोप लागेका प्रहरी वरिष्ठ हवल्दारलाई जिल्ला प्रहरी कार्यालय ल्याएर अनुसन्धान भइरहेको सर्लाहीका प्रहरी प्रमुख प्रवीण धितालले बताए।