धनगढी: कैलालीमा प्रहरीले ४० लाख बढीको अवैध सामानसहित गाडी र मान्छेलाई नियन्त्रणमा लिएको छ। हिजो (आइतबार) साँझ धनगढी उपमहानगरपालिका-४ स्थित हरि ओम हार्डवेयर एण्ड सप्लायर्सको ४० लाख बढीको सामान समातिएको हो।
सप्लार्यसले अवैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका चोरी पैठारीका सामानहरु बिक्रि वितरण गर्ने गरेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा हानेको थियो।
छापापछि जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलिले भारतको लखिमपुर, पलियाकला खिरी स्थायी घर भई हाल धनगढी-३ बस्ने ४४ वर्षीय आशिष गुप्ताको उक्त हार्डवेयरबाट सामान बरामद गरेको एसपी पदमबहादुर बिष्टले जानकारी दिए।
उनका अनुसार गुप्ताको गोदाममा रहेको भारतीय नम्बरको ट्रकबाट अनलोड गर्दै गरेको अवस्थामा हार्डवेयरका विभिन्न सामानहरु बरामद गरिएको थियो।
यस्तै प्रहरीले उक्त ट्रकसहित चालिस लाख चार हजार बराबरका सामानहरु र मानिसलाईसमेत आवश्यक कारबाहीको लागि कैलाली भन्सार कार्यालय त्रिनगरमा बुझाएको जनाएको छ। उता भन्सारबाट भने गाडीसहित मान्छे छुटिसकेको बुझिएको छ।