काठमाडौं : राष्ट्रिय सभामा संस्थापनसँग भागबन्डा नमिलेपछि कांग्रेसको संस्थापनइतर पक्ष छुट्टै छलफलमा जुटेको छ ।
सत्ता गठबन्धनमा १० सिट लिने समझदारी भए पनि आफूहरूलाई कम सिट दिन खोजेकोमा असन्तुष्टि जनाउँदै कांग्रेसको शेखर पक्ष छुट्टै छलफलमा जुटेको हो ।
सभापति शेरबहादुर देउवा निवासमा भएको छलफलमा संस्थापन इतरले ४ सिट मागेको थियो ।
तर, देउवा तयार नभएको बुझिएको छ । संस्थापनले आफू निकटका नेतालाई उम्मेदवार बनाउन गठबन्धनमा क्लस्टर मिलाएको विषयमा पनि शेखर-गगन पक्ष असन्तुष्ट रहेको नेताहरू बताउँछन् ।
इतर पक्षको छलफलमा डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्रीद्वय जीवन परियार र बद्री पाण्डे, नेताहरू बलबहादुर केसी, अर्जुननरसिंह केसीसहितका नेता सहभागी छन्।
आजै १ बजे कार्यसम्पादन समितिको बैठक बसेर उम्मेदवार छनोट गर्ने भनिए पनि आन्तरिक भागबन्डा नमिल्दा बैठक बस्न ढिलाइ भइरहेको छ।
१ बजेको बैठक ४ बजेलाई सारिएको थियो। तर, बैठक बस्न सकेको छेन्। फेरि प्रभावित हुने देखिएको छ।
पार्टी केन्द्रीय समितिको बैठकले यसअघि अवसर नपाएकालाई अवसर दिने, चुनाव हारेकालाई प्राथमिकता नदिने निर्णय केन्द्रीय समितिको बैठकले गरेको थियो।
तर संस्थापनले पराजित अनुहार र अवसर पाएकालाई बनाउन उम्मेदवार बनाउन खोजेपछि शेखर गगन पक्ष असन्तुष्ट बनेको हो।