काठमाडौं : आगामी राष्ट्रिय सभाको निर्वाचनका लागि सत्ता साझेदार नेकपा एकीकृत समाजवादी २ सिट मात्रै लिन तयार भएको छ।
सोमबार मनोनयन गर्ने समय नजिकिँदै गर्दा समाजावादीले २ सिट मात्रै लिने गरी निर्णय गरेको हो।
यसअघि समाजवादीले राष्ट्रिय सभामा तीन सिट दाबी गरेको थियो। तीन सिट नपाउने भएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग असन्तुष्टि पोख्दै अध्यक्ष माधव नेपाल बालुवाटारबाट निस्किएका थिए।
पार्टी प्रवक्ता एवम् उपमहासचिव जगन्नाथ खतिवडाले २ सिट मात्रै लिएर राष्ट्रियसभा निर्वाचनमा जाने निर्णय भएको बताए।
‘पार्टीका तर्फबाट उम्मेदवारका नाम टुंगो लगाउने जिम्मा तीन जनालाई जिम्मा लगाएका छौँ’, खतिवडाले भने, ‘क्लस्टरबारे पनि छलफल चलिरहेको छ। क्लस्टरका कारण हामी अड्किएका छौँ।’
खतिवडाले असन्तुष्टि बाँकी रहे पनि अहिलेलाई २ सिटमा चित्त बुझाएर जाने बताए। खतिवडाले उम्मेदवारको नाम आइतबारै साँझसम्म आउने बताए।