धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको फाइनल पुग्ने टोलीको टुंगो लागेको छ ।
आइतबार समूह चरणका खेल सम्पन्न भएसंगै फाइनल पुग्ने खेलको टुंगो लागेको हो । समान तीन खेल जितेको बैतडी अंकतालिकाको शिर्ष र कैलाली दोस्रो स्थानमा रहदै फाइनल पुगेका छन् । आज सम्पन्न खेलमा बैतडीलाई १० रनले हराउदै कैलाली फाइनलमा पुग्यो ।
यसअघि समान तीन खेल जितेको कञ्चनपुर भने नेट रनरेटमा पछि रहदै फाइनल होडबाट बाहिरिएको स्कोरर नरेन्द्र भट्टले जानकारी दिए ।
जितका लागि पाएको २०१ रनको लक्ष्य पछ्याएको बैतडीले ३० ओभरमा ६ विकेटको क्षतिमा १९० रन मात्रै
बनाउन सक्यो । जसमा ओपनर खडक बोहराले शतकीय पारी खेले। उनले ७९ बलको सामना गर्दै १२ चौका र २ छक्काको मद्दतमा ११० रन जोडे। जारी प्रतियोगितामा खडक शतक हिर्काउने पहिलो खेलाडी समेत बने । कैलालीका लागि शेर मल्लले ४ र कप्तान नारायण जोशीले २ विकेट हात पारे ।
यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ३० ओभरमा झारिएको थियो ।
टस जितेर पहिला ब्याटिङ गरेको कैलालीले निर्धारित ३० ओभरमा ६ विकेटको क्षतिमा २०० रन बनायो ।उसका अभिषेक पालले ६३ र आयुब चन्दले अविजित ५३ रनको योगदान गरे। बैतडीका खडक बोहराले ३ विकेट झारे। खडक खेलका म्यान अफ द म्याच समेत चुनिए।
बैतडी र कैलालीबीचको फाइनल खेल मंगलबार हुनेछ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस १४ गतेदेखि छनौट प्रतियोगिता शुरू भएको थियोे ।
छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ ।
Facebook Comments Box