धनगढी : प्रधानमन्त्री कप पुरूष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तरीय छनौटको उपाधि कैलालीले जितेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा बैतडीलाई ३७ रनले पराजित गर्दै कैलालीले उपाधि जितेको हो ।
जितका लागि पाएको २८० रनको लक्ष्य पछ्याएको बैतडी ३८ ओभरमा २३२ रनमा समेटियो । जसमा खडक बोहरा र नरेन भट्टले अर्धशतक हिर्काएपनि टोलीलाई जिताउन सकेनन् । खडक ७४ र नरेन ५९ रनमा आउट भए।
कैलालीका कप्तान नारायण जोशीले ३, शेर मल्ल र धर्म जोशीले २/२ विकेट हात पारे । यसअघि फाप्ला मैदानमा बिहान ९ बजेदेखि शुरू हुने भनिएको ५० ओभरको खेल बाक्लो हुस्सु लागेकाले निर्धारित समयभन्दा ढिला सुरू हुँदा ४० ओभरमा झारिएको थियोे ।
टस जितेर ब्याटिङ गरेको कैलालीले निर्धारित ४० ओभरमा ६ विकेटको क्षतिमा २७९ रन बनायो । उसका कप्तान नारायण जोशीले शतकीय पारी खेल्दै १०१ रन हिर्काए। यस्तै शेर मल्लले ५० रनको पारी खेले। बैतडीका खडक बोहराले ३ र कप्तान वसन्त खत्रीले २ विकेट झारे। नारायण खेलका म्यान अफ द म्याच समेत चुनिएका स्कोरर नरेन्द्र भट्टले जानकारी दिए ।
विजेता, उपविजेता टोलीलाई सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री झपट साउँद,नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्द, केन्द्रीय सदस्य धिरेन्द्र सावद,सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघका अध्यक्ष बाशुदेव जोशीलगायतले पुरूस्कार वितरण गरे ।
पुरूस्कार वितरण तथा समापन समारोहमा बोल्दै मन्त्री साउँदले सुदूरपश्चिम क्रिकेटको उवर्भुमी रहेको बताउदै क्रिकेटको विकास तथा खेलाडीको हौसला र प्रोत्साहनका लागि प्रदेश सरकार प्रतिवद्ध रहेको बताए ।
यस्तै नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले क्रिकेट खेलले गर्दा नेपाल विश्वमा चिनिएको बताउदै क्रिकेट विकास र पुर्वाधार निर्माणका लागि सरकारको खाचो रहेको बताए ।
सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघको आयोजनामा पुस ८ गतेदेखि शुरू भएको छनौट प्रतियोगितामा प्रदेशका शुरू भएको थियोे । प्रतियोगितामा प्रदेशका ८ जिल्लाको सहभागीता रहेको थियो।
प्रादेशिक क्रिकेट संघले एलाइट र प्लेट च्याम्पियनसिप गरेर दुई चरणमा प्रतियोगिता सञ्चालन गरेको हो। गत वर्षको प्रादेशिक छनौटमा सेमिफाइनल पुगेका बैतडी,अछाम,कैलाली र कञ्चनपुरले एलाइट र दार्चुला, बझाङ,डडेल्धुरा र डोटीले प्लेट च्याम्पियनसिप खेलेका थिए।
प्लेट च्याम्पियनसिपबाट क्वालिफायर भएर बझाङले एलाइट च्याम्पियनसिप खेलेको थियोे । यस छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट प्रधानमन्त्री कप राष्ट्रिय प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली घोषणा गरिनेछ ।