धनगढी : विराटनगरका क्यासिनोमा नेपालीलाई खुलेआम जुवा खेलाइने र मिटरब्याजको धन्दा चल्ने गरेको खुलेको छ । शुक्रबार दुई समूहबीच खुकुरी हानाहानपछि सेटिङ बाहिरिएको हो ।
बिग होटलमा रहेको सम्राट क्यासिनोमा नेपालीहरूबीच नै झगडा भएपछि यो प्रकरण बाहिर आएको हो । मिटरब्याजको विषयमा झगडा भएपछि विराटनगरका रोनाल कँडेलमाथि खुकुरी प्रहार भएको हो । झापाका बिक्रम थपलियाको समूहले उनीमाथि आक्रमण गरेको हो ।
कँडेल र थपलिया दुवै गुन्डागर्दी, सट्टेबाजी तथा मिटरब्याजको धन्दामा संलग्न छन् । दुवैको मोरङ प्रहरीका अधिकारीसँग समेत निकट सम्बन्ध रहेको स्रोत बताउँछ ।
थपलियालाई प्रहरीले पक्राउ गरेको छ । क्यासिनोमा नेपालीलाई प्रवेश निषेध छ । तर विराटनगरमा रहेका रत्ना होटल र बिग होटलका क्यासिनोमा भारतीय भन्दा नेपाली धेरै हुने गरेका छन् ।
क्यासिनोले मोरङ एसपीमा सेटिङ मिलाएकाले कहिलै छापा हान्ने गरिएको छैन । मोरङका एसपी दीपक पोखरेल तथा डिएसपी रञ्जन दाहालको शंकास्पद भूमिका देखिएको छ ।
यो घटनामा क्यासिनो समेत मुछिए पनि क्यासिनो सञ्चालकमाथि अनुसन्धानमा चासो दिइएको छैन ।