धनगढी: सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले आगामी बजेटमा देउडा आइडल आयोजना गर्न बजेट छुटाउने बताएका छन्।
धनगढीमा बुधवार साँझ आयोजित देउडा आइडल सम्बन्धी विशेष भेटघाटमा मन्त्री धामीले उक्त कुरा बोलेका हुन्।
कला, संस्कृति, परम्परा जोगाउनेका काम सरकारको भएको उनको भनाइ थियो। उनले अहिले विभिन्न संस्थाहरूले त्यस्तो काम गरेर राम्रो गरिरहेको बताए।
उनले भने, ‘कला, संस्कृति, परम्परा जोगाएर पर्यटन क्षेत्रसँग जोडेर आम्दानी बढाउनु पर्ने पनि हुन्छ।’
नेकपा (एमाले) का प्रदेश अध्यक्ष कृष्णप्रसाद जैसीले देउडा आइडलले देउडा संस्कृति जोगाउन ठूलो भूमिका खेल्ने बताए।
सो अवसरमा महेश आउजी लगायतले विभिन्न देउडा लगायतका कलाकारले सांस्कृतिक प्रस्तुति गरेका थिए।
फागुनको पहिलो हप्ताबाट सुरु हुने देउडा आइडल २०८० मा सुदूर र कर्णाली प्रदेशमा गायन प्रतिभा भएका करिब दुई हजारभन्दा बढी व्यक्तिहरू प्रत्यक्ष जोडिने अपेक्षा लिइएको आयोजक संस्था देउडा सांस्कृतिक मञ्चका अध्यक्ष महेश औजीले बताए ।