काठमाडौं : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतले आफ्नो अनवरत विकास यात्रामा छिमेकी देशहरुलाई पहिलो प्राथमिकतामा राखेको बताएका छन्। भारतको ७५औं गणतन्त्र दिवसका अवसरमा शुक्रबार जारी गरेको सन्देशमा उनले नेलसँगको सम्बन्धमा पारस्परिक लाभका लागि सहस्राब्दी पुरानो सभ्यतागत सम्बन्धलाई आधुनिक साझेदारीमा रूपान्तरण गरिएको बताएका छन्।
‘नेपालले सन् २०२३ मा भारतमा १५ अर्ब रुपैयाँको विद्युत निर्यात गरेको छ । यो निर्यातले यस पारस्परिक लाभकारी सहकार्यको अपार सम्भावनालाई देखाउँछ । दुवै देश बंगलादेशसँग ऊर्जा क्षेत्रमा क्षेत्रीय व्यापार बढाउने प्रक्रियामा छन्,’ राजदूत श्रीवास्तवले भनेका छन्, ‘भरपर्दो साथी र साझेदारको रूपमा रहेको भारत सङ्कटको समयमा पनि पहिलो रेस्पोन्डर रहदै आएको छ । जाजरकोटमा भूकम्प गएलगत्तै भारतले तुरून्तै नेपाललाई अत्यावश्यक राहत सामग्री उपलब्ध गराएको थियो । भारतका विदेशमन्त्री डा एस जयशंकरको हालै भएको नेपाल भ्रमणका दौरान प्रिफ्याब घर र अन्य अत्यावश्यक सामग्रीसहितको पाँचौं चरणको राहत सामग्री नेपाललाई हस्तान्तरण गरिएको थियो । भारतले नेपालको पुनर्निर्माणमा सहयोग गर्न १००० करोड रुपैयाँको आर्थिक सहयोग उपलब्ध गराउने घोषणा पनि गरेको छ।’