श्यामबहादुर खडका, नेपालीहरूका चाडहरू भदौमा शुरु भएर कार्तिकमा समाप्त भइ सक्छन्। त्यसपछि चिसोको मौसम शुरु हुन्छ। खेतीपातिको कामपनि संगै चलिराखेको हुन्छ। मानिसहरू सानोतिनो काममाब्यस्त हुन्छन्। तर सुदूरपश्चिमको केही जिल्लाहरूमा दशैँको चाडपछिको दोस्रो ठुलो चाड भुवो शुरु हुन्छ। भवानीको आराधना गरिने यो महत्वपूर्ण पर्व हो।
यो पर्व पुस महिनाको शुक्ल द्वितीयाका दिनमा मानिन्छ र भुवो पनि त्यसै दिन शूरु हुन्छ। यसलाई दुयाको पर्व पनि भनिन्छ। त्यस पर्वका दुइदिन अगाडि पर्ने पुषको औँसीमा भुवो जगाउने काम हुन्छ। औँसीका दिन भुवो नजगाई दुयाका दिन खेल्न पाइँदैन। कतै कतै आगामी दिनमा भुवो खेल्ने भएमा त्यसको आमन्त्रणको लागि पूर्णिमाको बेलुकासमेत राँका जलाउने काम हुन्छ।
औसीको दिनभुवो जगाउनको लागिबिहाननहुँदै सबै भुवा खाडामा पुगी सक्छन्। भुवो खेल्ने लोग्ने मानिसहरू जम्मा भएर औँसीको दिन त्यसबेला बत्ती बाली भवानी र देवी देवतालाई आव्हान गरिन्छ। त्यहाँ उपस्थित सबैले पुकारा गरेर निगालाको राँका बनाई तिनीहरूको टुप्पोमा तेल र घिउले भिजाएको कपडा बेरेर राँको बालिन्छ।
जाडो महिना भएका कारण भुवाखाडामा मुडा बालेर आगो जगाइएको हुन्छ। यसको लागि मुडा अघिल्लै दिन राखिएका हुन्छन्। भुवो जगाउने काम गाउँको नाइकले गर्दछ। गाउँको नाइके भनेको त्यस जातिभित्र पर्ने जेठो हाँगोको जेठो व्यक्ति हो। भुवो जगाउने कामको जिम्मा पनि उसैको हुन्छ। सबै काम उसैले गर्छ र अन्य मानिस उसको सहयोगको लागि उपस्थित भई दिनुपर्छ।
चिरागका राँकाबालि सकेपछि त्यहाँ उपस्थित मानिसहरू एक एक राँका हातमा लिएर वरिपरि गोलो घेरा हालेर नाच्छन्। एक छिनसम्म भुवो अथवा भस्सो भट्याएपछि त्यस सालको भुवो जगाएको मानिन्छ। त्यस दिनको काम सकिएपछि सबै बिहान हुनुभन्दा अगाडि आफ्नो घर फर्कि सक्छन्।
प्रतिपदाका दिन भुवोमा प्रयोग हुने हतियारहरू सफा गर्ने काम हुन्छ। मानिसहरू आफुसंग भएको ढाल तरबार अथवा खुकुरी टल्काएर राख्छन्, ताकि भुवो खेल्ने बेलामा टल्कियोस्। त्यसका तेल लगाएर दावमा राखिन्छ। कोही कोही पहिले पनि सफा गरी राख्छन्।
औँसीको तेस्रो दिनदुयाको पर्व मानिन्छ। द्वितीया तिथिलाई स्थानीय भाषामा दुया भनिन्छ। उदाहरणको लागि पडेवा, दुया आदि शब्दले तिथिहरू पहिचान गर्ने गरिन्छ। दुया एक ठुलो पर्व मध्ये एक हो। यस दिन गाउँका मानिसहरू आफ्नो क्षमता अनुसारको खानपिन गर्छन्।
गाउँलेहरूको बचिमा टिका टालो हुन्छ। यसमा भवानीको आशीर्वाद मागिन्छ र दिइन्छ। यस पर्वका लागि एक गीत नै प्रचलनमा छ। चिउडो पिठायो, बनायो लायो। यसदिन अरुखानपिन गरेपनि मुख्य प्रसाद भनेको चिउरा खाने र पिठायोको टिका लगाउने हो। पिठायो चामल र बेसार मिसाएर जाँतोमा पिसेर तयार गरिन्छ।
खुशीको पर्व भएपनि पाण्डवहरूको बान्धवको मृत्यु पनि भएकोले यसदिन पँहेलो टिका चलेको भनिन्छ। पहिला घरमा बत्ति बालेर परिवारमा टिकाटालो गरि सकेपछि गाउँका दाजुभाई र महिला सबैलाई लगाई दिने चलन रहेको छ। खानपिन सकेर टिकाटालो भई सकेपछि मानिसहरू कपडा लगाएर भुवा खाडोमा जम्मा हुन्छन्। लोग्ने मानिसहरूले ढाल र तरबार बोकेका हुन्छन्।
कम उमेरकाले खुकुरी बोक्छन्। केहीले दाउराको लठ्ठीलाई तरबारको रुपमा प्रयोग गर्छन्। केही नबोकेकाले हातमा गलबन्दी लिएर भुवोको कदममा सहभागी हुन्छन्। अहिले तरबारहरू हराइ सकेका छन्। पुराना पुर्खाहरूको जमाना काटमारको भएकोले घरमा कम्तिमा एक तरबार राखिन्थ्यो।
त्यसका साथै खुकुरी पनि घर घरै हुन्थे। त्यो तरबार पहिलेको काटमारको जमानामा जसले अरु मान्छेलाई काटन सक्यो त्यसको हैकम जम्थ्यो। त्यसबेला सजाय भन्ने केही थिएन। काटिने पक्षका मानिसले ज्यानको बदला ज्यान लिन पाउँथ्यो। यसलाई मुड लाउनु भनिन्थ्यो। यसको लागि राजालाई केही दण्ड तिरे पुग्थ्यो।
त्यो तरबार विहाको समयमा दुलाहाले काँधमा राखेर बोक्ने पनि काम लाग्थ्यो। अहिले त्यो चलन हराई सक्यो। अहिले त्यस्तो जमाना रहेन। अहिले सबै संस्कारहरू बिर्सीसकेका छन, पुनरावृति हुने अवस्था रहेन। अहिले भुवो खेल्ने तरबारको विकल्पमा काठका तरबार प्रयोग हुन थालेका छन्।
यसतर्फ ठुलो गरालाई खाडो भनिन्छ। भुवो खेल्ने गरा भएकोले त्यसलाई भुवाखाडो भनिएको हो। एकातर्फ भ्वा भनेको पाखो बारीलाई भन्छन्। तर खासगरी भवानीको आराधना गरि भुवो खेलिने यसलाई देवीको नाचन्थली मानिन्छ। यस भुवा खाडोमा बर्खामा मात्र बालीनाली लगाएपनि हिउँदमा भने लगाउन पाइँदैन। लगाएपनि खुट्टाले कुल्चिएर मासिएमा विरोध गर्न पाइँदैन।गाउँकालोग्ने मानिसहरू भुवा खाडोमा जम्मा हुने बेलादिन ढल्केर अपरान्ह भईसकेको हुन्छ। आइमाई मानिसहरू रमिता हेर्नको लागि जम्मा हुन्छन्।
पहिले भुवोको पर्वमा सबै मानिसहरू घरमै हुन्थे। दुयाको चाड सकिएपछि मात्र देश विदेश जान्थे। देश विदेशमा लामो अवधिसम्म बस्ने र बसाई सराईले पनि अहिले गाउँमा भुवो खेल्ने मानिस गाउँमा भेटिदैनन्। अर्कोतर्फ भुवोको बारेमा जान्ने बुढापाका मानिसहरू अब त्यति छैनन। यस संस्कृतिको बारेमा पुस्तान्तरण कम भएको छ। गाउँमा अहिले असक्त बुढापाका र आईमाई केटाकेटी मात्र बस्छन्।
पहिले भुवो खेल्नु मनोरन्जन मात्र थिएन। त्यसमा भवानीको र स्थानीय देवताको आशीर्वाद प्राप्तहुन्थ्यो। अहिले त्यस्तो धारणा हटिसकेको छ। नयाँ ठाउँमा बसाई सरी गएका केही मानिसहरूले आफ्नो ठाउँमा यसलाई निरन्तरता दिने कोसिस गरिरहेका छन्। तर यसको मौलिकता पहिले जस्तो रहेन।
यो भुवो पहिले कौरव र पाण्डवको लडाइँपछि शुरु भएको हो। युद्ध जित्ने प्रयोजनको लागि उनीहरूले भवानीको आराधना गरेका थिए। युधिष्ठिरले भवानीको आशीर्वाद प्राप्त गरेको भन्ने कुरा महाभारत पढ्दा समेतजानकारी पाउन सकिन्छ।
त्यसपछि भवानीको सम्मानमा हरेक वर्ष पुस शुक्ल द्वितियाको दिन यो पर्व मान्न थालियो। केही किम्बदन्तीका अनुसार यसको परिकल्पना सहदेवको थियो,जसले ज्योतिष विधामा विशेषज्ञता हासिल गरेका थिए भनिन्छ।
भुवो खेल्ने तिथिको हाराहारीमा महाभारतको युद्ध भएको आकलन छ। यसकारणले गर्दा नै यस महिनालाई भुवो खेल्ने महिना रोजिएको थियो। धर्मको महिना भएकोले माघमा भुवो खेलिदैन। दुयापर्व माघमा परेमा काटमार साधन प्रयोग नगर्ने मान्यताअनुसार त्यस बर्ष भुवो खेल्न बाधा हुन्छ।
यसका साथै गाउँमा जुठो सुत्केरा अवस्था भएमापनि भुवो खेलिदैन। यसमा माग्न सकिने दिन हेरी भुवो खेलिन्छ। भुवोमा बाजाको तालपनि छुटटै किसिमको हुन्छ। यसमा कसैको जेठो छोरा जन्मेको, नयाँ मान पाएको व्यक्तिको घरमा भुवो लगिन्छ।
पूर्णिमासम्म खेल्न सकिने भएपनि अवस्था हेरि बढीमा सात आठ दिनसम्म मात्र भुवो खेलिन्छ। भवानीको बत्तिबाली आव्हान गरेर पूजा गरी भुवोको विसर्जन हुन्छ। अन्तिम दिनको लागि भुवो खेल्दा उठेको रकमबाट बोकाको व्यवस्था गरिएको हुन्छ। बोकाको बलिदिएर काँचो मासु घर घर पठाइन्छ। त्यस दिनपनि पिठायोका टिका लगाएर चिउरा भुटनको प्रसाद बाडिन्छ र भुवो समाप्त हुन्छ।
भुवो खेल्ने अवधिको दिनमा भुवो र बेलुका मनोरन्जनको लागि डेउडा, भारी खेल, झोडा, पुरा कथाका सांगितिकगीहरू गाएर नाची राति अबेरसम्म मनोरन्जन गरिन्छ। अको दिन समेत यहीक्रम दोहोरिन्छ। कतै कतै भुवोपछि चालीखेलपनि खेल्ने गरिन्छ। यो तरबारसहितको बाजाको तालमा कदम मिलाएर विशेष प्रकारले नाचिन्छ।
तिथिअनुसार यस वर्षको भुवो पुस १७ गतेको दिनमा परेको छ। भुवो जगाउने औँसी त्यसको दुइदिन अगाडि १५ गतेका दिन पर्दछ। भवानीको आशीर्वाद लागोस्, सबैलाई भुवो पर्वको शुभकामना !
(लेखक नेपाल प्रहरीका पूर्व डीआईजी अर्थात् मष्टो संस्कृती तथा परम्पराका लेखक हुन्।)