धनगढी: नेपाल प्रहरीका डीआईजी तथा कथाकार एवं साहित्यकार रवीन्द्र केसीको पुस्तक अहिले चर्चामा छ।
हालै सुदूरपश्चिम सरुवा भई आएका सुदूरपश्चिम प्रदेश प्रहरीको प्रमुखसमेत रहेका डीआइजी केसीको पुस्तकले सुदूरपश्चिमसहित देशैभर चर्चा बटुलिरहेको हो।
अहिले केसीको २१ शीर्षकका कथा सङ्गृहीत ‘सम्बन्धको दोबाटो’को बिक्रि बढिरहेको पनि बताइन्छ। धनगढीको इमेज बुक्ससहित विभिन्न बुक्स हाउसका सञ्चालकहरुले सो पुस्तकको माग बढिरहेको बताएका छन्।
अहिले धनगढीको इमेजलगायतका पुस्तक पसलमा सो पुस्तक उपलब्ध छ।
केही समय अगाडि लोकार्पण गरिएको उक्त कथा संग्रहमा समुन्द्ररूपी समाजमा भेटिने फरक प्रकृतिका मानिसहरूका फरक बानी, व्यवहार, सोच, बाध्यता, कुटिलता, मित्रता तथा बाँच्नका लागि गर्नुपर्ने अनेकौं संघर्ष पीडाका बीच मौलाएका फरकफरक सम्बन्धहरूको सूक्ष्म अध्ययन भेटिन्छ।
जसमा केसीले आफ्नो कर्तव्य पूरा गर्ने क्रममा देश तथा विदेशका केही शहर घुमेसँगै नियालेका धेरैजसो सत्य र कतिपय काल्पनिक, बताउन सकिने, नसकिने, व्यक्त गरिएका, गर्न नसकिएका लुकाइएका कुराहरू समावेश गरेका छन्।
यस्तै त्यहाँ वृद्धवृद्धाका चाहना र पीडाका कथा, अल्लारे उमेरमा गरिने प्रेम र गल्तीका कथा, विवाहित र एउटै छानामुनि बसेर पनि भुसको आगोझैं भित्रभित्रै सल्किएर खोक्रो भइसकेका सम्बन्धका कथासमेत छन्।
समग्रमा सम्बन्धको दोबाटोले सम्बन्ध, प्रेम, संघर्ष, दुख, पीडा, विछोड लगायतका कुराहरु चित्रण गरेको छ। त्यसलैले पाठकको नजरमा कथाकार र कथावस्तु यथार्थपरम बन्दै गएको हो।